भदौ ०४, २०८२, बुधबार

सडक मानवमुक्त प्रदेशको यात्रामा गण्डकी : मन्त्री थापा


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबि बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरे । 

सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ ।

मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइको व्यवस्थापनका लागि कुल एक करोड १८ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए । 

जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार, गोरखा जिल्लाका लागि १४ लाख ५० हजार र बागलुङका लागि २१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको तीन हजार रुपैयाँ सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गर्ने संकेत गरे ।

“मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो, ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु, यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो”, उनले भने ।

सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे ।

मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको उनको भनाइ छ ।
 

Copyright © 2024 | All rights reserved.