0
प्रतिक्रिया
पोखरा । होटल प्रतिनिधि समाज पोखराले आयोजना गरेको हस्पिटालिटी तथा मार्केटिङ व्यवस्थापन तालिम सम्पन्न भएको छ । एक सातासम्म सञ्चालित तालिममा सहभागी ४० जना प्रतिनिधिलाई पर्यटन विज्ञ दीपेन्द्र पहारी, समिर बराल र तारागाउँ रिसोर्टका शिवराम ढकालले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हस्पिटालिटी तथा मार्केटिङ व्यवस्थापन वर्तमान युगको अत्यन्तै महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र भएको भन्दै हाम्रो मुलुक पर्यटनमा भर पर्ने राष्ट्र भएको र पर्यटन क्षेत्रको सफलता सीपयुक्त जनशक्तिमा निर्भर गर्ने बताए ।
तालिममार्फत सहभागीले सेवा प्रवाह, ग्राहक सन्तुष्टि, व्यवहार कौशल, प्रचारप्रसार, ब्रान्डिङ, डिजिटल मार्केटिङ जस्ता महत्वपूर्ण पक्षमा ज्ञान प्राप्त गर्नुभएको छ भन्ने आफूलाई विश्वास लागेको अध्यक्ष पहारीले बताए ।
उनले भने, ‘म सबै सहभागीलाई बधाई दिन चाहन्छु जसले समय दिएर यो सीप सिक्नुभयो, अब तपाईंहरू आफैंमा एक सक्षम प्रतिनिधि बन्नुभएको छ, जसले आगामी दिनमा नेपालको पर्यटन, हस्पिटालिटी तथा सेवा क्षेत्रलाई उचाइमा पुर्याउन योगदान दिनेछ ।’
होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले तालिमले युवा पुस्तामा आवश्यक सीप, ज्ञान र आत्मविश्वास भरिदिएको दावी गरे । उनले नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै गर्दा दक्ष जनशक्तिको खाँचो अत्यन्तै ठूलो रहेको भन्दै होटल संघको तर्फबाट सधैं यस्ता सीपमूलक तालिमको प्रवद्र्धनमा सहयोग गर्न तत्पर रहेको बताए ।
होटल उद्योगको मजबुत आधार बन्न युवाले यसबाट प्राप्त सीपलाई व्यावसायिक अभ्यासमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ प्रशासकीय अधिकृत युवराज गुरुङले गण्डकी प्रदेश पर्यटनको प्रमुख गन्तव्य भएकाले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक सम्पदाले हरेक वर्ष लाखौँ पर्यटकलाई आकर्षित गर्दै आएका बताए ।
उनले पर्यटकलाई आकर्षण मात्र होइन, उत्कृष्ट सेवा दिन सक्नुपर्ने आवश्यकता दिनानुदिन बढ्दै गइरहेकाले हस्पिटालिटी र मार्केटिङ जस्ता सीपहरू अत्यन्त आवश्यक रहेको स्पष्ट पारे ।
तालिमले पर्यटन सेवा क्षेत्रसँग प्रत्यक्ष जोडिने व्यवहारिक ज्ञान प्रदान गरेको भन्दै उनले सेवा प्रवाह, अतिथि सत्कार, व्यवसाय प्रवद्र्धन, ब्रान्डिङ र डिजिटल माध्यमको प्रभावकारी प्रयोगजस्ता पक्षमा युवा सशक्त भएका छन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘हामी सधैं यस्ता सीपमूलक कार्यक्रमहरूलाई प्रोत्साहन गर्न तयार छौं, प्रदेशको पर्यटन समृद्ध बनाउने यात्रामा तपाईंहरू सबैको साथ र योगदान अनिवार्य छ ।’
कार्यक्रममा पर्यटन विज्ञ एवं प्रशिक्षक दीपेन्द्र पहारी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम आधीकारी, ओटेफका उपाध्यक्ष ममता न्यौपानेलगायतले बोलेका थिए ।
समाजका अध्यक्ष माधव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत, महासचिव शिव पौडेलले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.