भदौ ०४, २०८२, बुधबार

पोखरा-२८ को चुत्राकोटमा अर्धनारीश्वर दिव्यधाम निर्माणको घोषणा


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २८ चुत्राकोटमा अर्धनारीश्वर दिव्यधाम निर्माणको घोषणा गरिएको छ । हिन्दू धर्म, योग, वेद र संस्कृतिसम्बन्धी अनुसन्धान तथा साधनाको केन्द्रका रूपमा ‘अर्धनारीश्वर दिव्यधाम’ निर्माणको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक रेभित कुमारले अर्धनारीश्वरको दर्शनले आजको समाजमा स्त्री–पुरुष समता र सहसत्ता सम्झाउने बताए । 

उनले अर्धनारीश्वर दिव्यधामको निर्माण केवल एउटा संरचना निर्माण मात्र नभई सनातन संस्कृतिको संरक्षण र प्रसारको प्रतीक भएको जिकिर गरे ।

अर्धनारीश्वरको सन्देशले समाजमा स्त्री-पुरुष समानताको दिव्य प्रेरणा दिने र धार्मिक सहिष्णुता तथा सांस्कृतिक एकताको बलियो सन्देश फैलाउने उनले दावी गरे । यस्तो पवित्र कार्यमा सबैको तन, मन र धनको योगदान आवश्यक रहेको उनले बताए । 

भारतीय शिक्षण मण्डलका गुरुकुल प्रकल्प संयोजक डा. दीपक कोइरालाले नेपाल अब वेद ज्ञानको केन्द्र बन्दै गरेको दावी गरे ।

गणितज्ञ एवं प्राचार्य डा. पवनले धामभित्र वैदिक गणित अनुसन्धानको सम्भावना अत्यन्त उत्साहजनक रहेको बताए । 

वेदविद् डा. धर्मराज कुँइकेलले नेपाल र दक्षिण भारतको वैदिक सम्पर्क यिनै गुरुकुलमार्फत पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।

न्यायविद्, लेखक तथा प्रज्ञा अभ्यासकर्ता डा. रामकृष्ण तिमल्सेनाले अर्धनारीश्वर दिव्यधाम एकीकृत चेतना, न्याय र दर्शनको प्रतीक हुने दावी गरे ।

योजना समन्वयकर्ता दीपक तिमल्सेनाले समग्र नेपालका लागि यो परियोजना एक सांस्कृतिक पहिचान बन्ने दावी गरे ।

अर्धनारीश्वर दिव्यधाम निर्माणको योजना लामो समयदेखि सबैको चाहना र सपना भएको भन्दै उनले स्थानीय सरोकारवाला, धार्मिक अगुवा र आम नागरिकको सुझाव तथा सहकार्यका आधारमा यसलाई योजनाबद्ध रूपमा अघि बढाइएको स्पष्ट पारे ।

संरचनाको दीर्घकालीन संरक्षण, पर्यावरणीय सन्तुलन र सुविधासहितको धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको भन्दै उनले सबै पक्षको सहयोग र आशीर्वादले यो धाम समयमै सम्पन्न भई देश-विदेशका श्रद्धालुका लागि आकर्षणको केन्द्र बन्ने विश्वास लिएको बताए ।

पोखरा-२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले ‘अर्धनारीश्वर दिव्यधाम’ निर्माणको ऐतिहासिक घोषणा भएको दिन हाम्रो वडाका लागि गर्वको क्षण भएको बताए । 

उनले भने, ‘यो धार्मिक तथा सांस्कृतिक धरोहरको निर्माणले केवल आस्थावान भक्तजनको भावनालाई मात्र उचाल्ने छैन, यो हाम्रो वडाको सामाजिक, आर्थिक र पर्यटन क्षेत्रको प्रगतिमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ सबै मिलेर यस धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राख्न उनले आग्रह गरे ।

धाम स्थापना किन ?

धाममा वैदिक परम्पराको क्लासिकल अर्धनारीश्वर मूर्ति स्थापना गरिनेछ । यहाँ शिव र शक्ति (स्त्री-पुरुष तत्व) को दिव्य मिलन स्वरूपलाई मूर्त रूप दिइनेछ । साथै धाममा अर्धनारीश्वरसँगै अन्य प्रमुख हिन्दू देवी-देवता गणेश, लक्ष्मी, सरस्वती, महाकाली र नवग्रह (नौ ग्रह देवता) का मूर्ति स्तापना गरिनेछ ।

धाममा आधुनिक गुरुकुल स्थापना गरिने बताइन्छ । जसमा वेद, उपनिषद्, ब्राह्मणको अध्ययनका लागि वेदशाला, वैदिक ज्योतिष, खगोलशास्त्र तथा ग्रह-नक्षत्रसम्बन्धी अनुसन्धानका लागि ज्योतिषशाला स्थापना गरिनेछ । 

यस्तै योगाभ्यास, ध्यान र स्वास्थ्यका लागि योगशाला, स्मृति, पुराण, नीति र आचारका लागि धर्मशास्त्रशाला र वैदिक गणित, संस्कृत गणितीय पद्धति, विज्ञान संस्कारका लागि विज्ञान-गणितशाला निर्माण गरिने योजना छ । 

सनातन वैदिक मूल्य र परम्पराको संरक्षण गर्ने, युवा माँझ योग, वेद, ज्योतिष र दर्शनमा गहिरो बोध गराउने, स्त्री-पुरुष समता र सहकार्यको सार्वभौमिक सन्देश जागृत गराउने र हिन्दू तीर्थयात्राको नयाँ केन्द्रीकरण पोखरामा गराउने उद्देश्यका साथ परियोजना अघि बढाइएको योजना समन्वयकर्ता तिमल्सेनाले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.