0
प्रतिक्रिया
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिवबहादुर कोइरालाले उद्योग, वाणिज्य र सेवा क्षेत्रको सुदृढीकरणका लागि निजी क्षेत्र, स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
बाग्लुङ उद्योग वाणिज्य संघले आयोजना गरेको योजना कार्यशाला उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
पारम्परिक सोचमात्र होइन, नवप्रवर्तन र प्रविधिको उपयोगमार्फत बजार विस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै कोइरालाले कृषि उत्पादको मूल्य अभिवृद्धि, पर्यटकीय आकर्षण, तथा साना-मझौला उद्योगको प्रवर्द्धनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन योजना कार्यशालाले महत्वपूर्ण मार्गदर्शन गर्ने दावी गरे ।
कार्यशालाबाट निस्कने सुझाव र योजना केवल कागजमा सीमित नराख्न आग्रह गर्दै उनले व्यवहारमा परिणत गर्नुपर्ने खाँचो औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य युवराज भण्डारीले संघ केवल व्यवसायीका साझा मञ्च मात्र होइन, देशको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अग्रणी संस्था भएको बताए ।
उनले संघले निजी क्षेत्रको हित रक्षामात्र होइन, राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउने जिम्मेवारी पनि वहन गरिरहेको स्पष्ट पारे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्यको दिगो विकासका लागि बजार विस्तार, गुणस्तरीय सेवा, सीपमूलक तालिम, लगानीमैत्री वातावरण र सरकारी-निजी साझेदारीलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बागलुङ पनि कृषि, पर्यटन र उद्योगको उत्कृष्ट सम्भावनाले भरिएको भन्दै यसलाई पूर्ण रूपमा उपयोग गर्न स्थानीय सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।
बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यकारिणी सदस्य नरेश कंडेलले सुरुवाती कठिनाइ र चुनौतीका बीच पनि योजनाबद्ध रूपमा अघि बढ्दै संरचनागत सुदृढीकरण, सदस्य विस्तार, सीप विकास तालिम, समाजसेवा र आर्थिक विकासका थुप्रै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताए ।
संस्थाले अझ नवप्रवर्तनशील कार्यक्रम, सहकार्य र पारदर्शी व्यवस्थापनमार्फत अझ उच्च लक्ष्य हासिल गर्नेछ भन्ने आफूले आशा राखेको उनले स्पष्ट पारे ।
संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यबहादुर भुजेल, कार्यकारिणी सदस्य दयाराम पौडेल, संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम, महासचिव इन्द्रमणि पौडेललगायतले बोलेका थिए ।
पोखरास्थित बेगनासताल माँझीकुनामा दुइ दिनसम्म सञ्चालन भएकाे कार्यशालामा सहभागीलाई मनोज सुवेदीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा समावेशी नेपाल कास्कीले प्राविधिक सहयाेग गरेकाे थियाे भने महिला उद्धम विकास समिति बाग्लुङ तथा नेपाल उद्याेग वाणिज्य महासंघ गण्डकी प्रदेश र केन्द्रीय समितिले सहकार्य गरेकाे थियाे ।
Copyright © 2024 | All rights reserved.