0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका नेता एवं कास्कीको मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङलाई मातृशोक परेको छ । देवीजंगकी ममतामयी माता रत्नमाया गुरुङको ९१ बर्षको उमेर आज पोखराको लामाचौरमा निधन भएको हो ।
मादी गाउँपालिकाको थुमाकोडाँडा निवासी रत्नमाया पोखरा महानगरपालिका वडा नं. १६ बानियाँपथमा जेठा छोरा सुवेदार गम्भीरजंग गुरुङसँग बस्दै आएकी थिइन् ।
स्व. रत्नमायाको सोमबार दिउँसो १२ देखि १ बजेबीच अन्तिम श्रद्धाञ्जलीका लागि पोखरास्थित बौद्ध अर्घौँ सदनमा राखिने र १ बजे बौद्ध अर्घौं सदन प्राङ्गणमै अन्त्येष्टि गरिने नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।
स्व. रत्नमायाका श्रीमान एवं प्रजातन्त्र सेनानी डिल्लीजंगको यसअघि नै निधन भइसकेको छ । उनका दुई छोरा गम्भीर र देवीजंग साथै छोरीहरु महाकाली र उमाकुमारी छन् ।
रत्नमायाको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ । पार्टी सचिव भानु ढकालले शोक वक्तव्यमार्फत रत्नमायाको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे ।
सचिव ढकालले भने, ‘आदर्श, निष्ठा र सेवाभावका प्रतीक मानिनुहुने रत्नमाया आमा पार्टीको लागि मात्र नभई स्थानीय समाजमा पनि एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले कठिन घडीमा पार्टीलाई बचाउन, विपरीत परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न र नयाँ पुस्तालाई मार्गदर्शन गर्न जीवनको महत्वपूर्ण समय अर्पण गर्नुभयो ।’
“रत्नमायाको अवशानले कांग्रेसमात्र होइन, लोकतान्त्रिक आन्दोलनले एक आदर्श, निष्ठा र सेवाभावका प्रतीक गुमाएको छ, उहाँको योगदान अमिट छ र उहाँले देखाउनुभएको बाटो हाम्रो प्रेरणाको स्रोत रहिरहनेछ”, सचिव ढकालले भने ।
पार्टीको संस्थागत मजबुती, महिला नेतृत्वको सशक्तीकरण र सामाजिक न्यायको पक्षमा उहाँको भूमिका सदैव स्मरणीय रहने उल्लेख गर्दै सचिव ढकालले भने, ‘नेपाली कांग्रेस कास्की दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
Copyright © 2024 | All rights reserved.