0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित शुक्ला साहित्य प्रतिष्ठानले २६औँ राष्ट्रिय कृष्ण भजन प्रतियोगिता आयोजना गरेको छ ।
कृष्ण जन्माष्टमी पर्वको अवसरमा यही साउन ३१ गते बाटुलेचौरको मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइन्छ ।
लोक सम्पदा र संस्कृतिको जगेर्ना गर्न सकेमात्र साहित्य र सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यका साथ भजन प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठान अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् ।
‘लोक संस्कृति र साहित्यको उर्वरभूमि बाटुलेचौरमा प्रतिष्ठानले कला, संस्कृति, भाषा र साहित्यको जगेर्ना गर्नको लागि राष्ट्रिय स्तरको कार्यक्रम गर्दै आएको छ,’ उनले भनिन्, ‘साहित्यका विविध विधालाई समेटेर काम गर्दै आएको प्रतिष्ठानले विगत ३६ वर्षदेखि उल्लेख्य पुरस्कार राशीसहित भजन प्रतियोगिता निरन्तर रुपमा गरेको छ ।’ कार्यक्रम सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० र सान्त्वना स्थान हासिल गर्ने २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष बस्नेतको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २३ उपसमिति गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले कला, साहित्य र संस्कृतिको देश विकासको समग्र विकासको मापन हुने बताए । उनले कला साहित्यलाई मानवीय विकास र सभ्यताको सूचकको रुपमा लिइने जानकारी दिए ।
भजन संयोजक नेत्रबहादुर बस्नेतले प्रतिष्ठानले नयाँ पुस्तालाई भजन सिकाउन ध्यान दिने बताए । उनले भजन प्रतियोगितामा शब्द, लय र ताललाई ध्यान दिने उल्लेख गरे ।
अर्थ समिति संयोजक सुमनराज पौडेलले तीन तहको सरकार र आजीवन सदस्यलाई जोडेर आर्थिक संकलनको काम भएको जनाए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा, वरिष्ठ उपाध्यक्ष गीता भट्टराई भण्डारी, सचिव रामप्रसाद पौडेल, सहसचिव तथा प्रचार प्रसार संयोजक सञ्जय थापालगायतले श्रीकृष्ण भजन प्रतियोगिताको तयारीको बारे बोलेका थिए ।
प्रतिष्ठानले साहित्यका विविध विधालाई समेट्दै वार्षिक कार्ययोजना निर्माण गरी साहित्यिक गोष्ठी, कार्यशाला तथा सेमिनार गर्दै आएको छ । जनकवि केशरी धर्मराज थापाको अध्यक्षतामा २०४५ सालमा शुक्ला साहित्य प्रतिष्ठान गठन भएको हो ।
Copyright © 2024 | All rights reserved.