साउन २८, २०८२, मंगलबार

जापानको नागानो प्रिफेक्चरको टोली पोखरामा


Advertisement Image
clock icon 3 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रिफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । 

नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा कोमागाने नगरका प्रमुखलगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिको पोखरा भ्रमणको तयारी र सन्दर्भका विषयमा छलफल भएको हो । 

उक्त भ्रमणका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोमागाने नगरका प्रमुख युजो इतोका बीचमा महत्त्वपूर्ण विषयमा समझदारी हुनेछ । 

दुई नगरका बीचमा दुई पक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यवसायिक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदानलगायत विषयमा समझदारी गर्दै सर्वप्रथम सन् २००१ मा भगिनी सम्बन्ध कायम गरिएको थियो । 

दुई नगरका बीचमा भगिनी सम्बन्ध स्थापना भएको रजत वर्षका अवसरमा हुन लागेको नगर प्रमुख इतोको पोखरा भ्रमणका क्रममा साझेदारी र दुई पक्षीय सम्बन्धको नयाँ श्रृंखला सुरु गरिने नगर प्रमुख आचार्यले बताए । 

उनका अनुसार पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नेदेखि लिएर रोजगारी, अध्ययन र सीप विकासका सन्दर्भमा दुईपक्षीय हितलाई महत्व दिइनेछ । 

जापान सरकारको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालनमा रहेको स्मरण गर्दै नगरप्रमुख आचार्यले सहकार्यका लागि आफूहरू तयार रहेको बताए । 

जापानी टोलीले पोखरा प्राकृतिक रूपमा निकै सुन्दर रहेको यहाँको पर्यटन उद्योगको विकास र नागरिकको जीवनस्तर सुधारका सवालमा हातेमालो गर्न तयार रहेको बताएको छ । 

टोलीमा जापानको तर्फको कासुनोरी  कोबाईसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रिफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षेत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तमराज कायस्थ थिए ।

Copyright © 2024 | All rights reserved.