0
प्रतिक्रिया
पोखरा । पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको अवैध सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणको निष्पक्ष छानबिनको माग गरेको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नगर्न, व्यवसायी र कालिगढले वैधानिक रुपले प्राप्त गरेको सुनचाँदी फिर्ता गर्न तथा अवैध कारोबार निरुत्साहित गर्न पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको हो ।
कास्की प्रहरीले शुक्रबार पोखराबाट ठूलो परिमाणमा अवैध सुनचाँदी बरामद गरेको थियो भने अवैध कारोबार गरेको भन्दै ११ जना भारतीय मूलका कालिगढलाई पक्राउ गरेको थियो ।
संघका महासचिव शोभा गौतमबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अवैध कारोबार र व्यवसायलाई निषेध गर्दछ भने संविधानप्रदत्त राज्यबाट इजाजत लिइ कानूनसम्मत रुपले गरिएका व्यवसायमाथि यो वा त्यो बहानामा गरिने धरपकडलाई स्वीकार गर्दैन ।’
विज्ञप्तिमा ठूलो परिणाममा सुनचाँदी बरामद भएको घटना पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठानको रुपमा रहेको ‘सुनचाँदी व्यवसायी संघ, कास्की र ‘नेपाल सुनचाँदी तथा रत्न आभूषण संघ,कास्की’ सँगमात्र नभएर व्यवसायीको अधिकार एवं स्वचालित ‘चक्र प्रणाली’ सँग पनि जोडिएको जिकिर पनि गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सुनचाँदी व्यवसाय संचालन,गहना निर्माण र बिक्री–वितरणको एउटा स्वचालित चक्र हुन्छ । विश्वासको आधारमा संचालित यो चक्रअन्तर्गत जसको हातमा सीप हुन्छ अर्थात् जो कालिगढ हो, उसलाई बढी जिम्मेवारी सुम्पिएको हुन्छ । यो व्यवसायीका आवश्यकता र बाध्यता दुवै हो ।’
विज्ञप्तिमा पक्राउ गरिएका कालिगढ यहाँका व्यवसायीसँग ३०औं वर्षदेखि इमान्दारितापूर्वक काम गर्दै आइरहेका र उनीहरुको विस्थापनले सुनचाँदी व्यवसाय नै धराशायी हुने जिकिर पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ती कालिगढले मासिक तलब पाउँदैनन्, कामबापत् ज्याला र जर्ति प्राप्त गर्ने हो । त्यसमार्फत् भन्ने सुनचाँदी व्यवसायीको जिकिरसँग पोखरा उद्योग वाणिज्य संघ पनि सहमति जनाउँछ ।’
संघले नेपाल र भारतबीचको सम्बन्ध र त्यसमै टेकेर यहाँ पेशा-व्यवसाय गरिरहेका कालिगढमाथिको धरपकडले कुटनीति सम्बन्धमा पार्नसक्ने असरप्रति ध्यान दिन पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारतबीचको सदियौँ पुरानो सहमति अनुसार भारतीय नागरिकहरु नेपालमा व्यवसाय वा काम गर्न स्वतन्त्र छन् भने भारतीय भूमिमा नेपालीले पनि त्यही अधिकार प्रयोग गरिरहेको स्मरण गर्न चाहन्छ । यसरी हुने धरपकडले नेपाल र भारतबीचको सम्बन्धमा उत्पन्न हुनसक्ने दरार एवं भारतीय भूमिमा रहेका नेपालीमाथि पनि नकारात्मक असर पर्नेप्रति संवेदनशील हुन हामी नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
जिल्ला प्रहरी कार्यालय कास्कीबाट मिति २०८२ साल श्रावण २३ गते राति पोखराका रहेका केही सुनचाँदीका कालिगढबाट ठूलो परिमाणमा सुनचाँदी बरामद गरिएको घटनाप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ अवैध कारोबार र व्यवसायलाई निषेध गर्दछ भने संविधानप्रदत्त राज्यबाट इजाजत लिइ कानूनसम्मत रुपले गरिएका व्यवसायमाथि यो वा त्यो बहानामा गरिने धरपकडलाई स्वीकार गर्दैन ।
ठूलो परिणाममा सुनचाँदी बरामद भएको घटना पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठानको रुपमा रहेका ‘सुनचाँदी व्यवसायी संघ,कास्की र ‘नेपाल सुनचाँदी तथा रत्न आभुषण संघ,कास्की’सँगमात्र नभएर व्यवसायीहरुको अधिकार एवं स्वचालित ‘चक्र प्रणाली’सँग पनि जोडिएकाले पनि यो घटनालाई सतही रुपमा मात्र लिनु हुँदैन भन्ने संघको धारणा रहेको छ ।
सुनचाँदी व्यवसाय संचालन,गहना निर्माण र बिक्री–वितरणको एउटा स्वचालित चक्र हुन्छ । विश्वासको आधारमा संचालित यो चक्रअन्तर्गत जसको हातमा सीप हुन्छ अर्थात् जो कालिगढ हो, उसलाई बढी जिम्मेवारी सुम्पिएको हुन्छ । यो व्यवसायीहरुको आवश्यकता र बाध्यता दुवै हो । त्यही प्रक्रियाअन्तर्गत व्यवसायीहरुले विश्वासकै आधारमा ठूलो परिणामको सुनचाँदी सुम्पेका हुन्छन् । अहिले बरामद गरिएको भनिएको सुन त्यसरी नै व्यवसायीले .प्रदान गरिएको तथा केही मात्रा चाहिँ कालिगढ स्वयंले ज्याला र जर्तिबाट गरेको आम्दानी, ,श्रीमती तथा परिवारका सदस्यले लगाएका गहना हो भन्ने तर्कलाई अनुसन्धानको क्रममा नजरअन्दाज नगरियोस् भन्ने संघको धारणा रहेको छ ।
जर्ति कहाँबाट कसरी प्राप्त हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न ‘ज्यासल’ नै पुग्नुपर्छ । नेपाल सरकारले स्वीकृति दिएका संस्थाबाट सुनचाँदी खरिद गरेका तथा राज्यलाई कर तिरेका व्यवसायीहरुले ज्याला र जर्तिको हिसाब–किताब आफ्नो खातामा राखेकै हुन्छन् । राज्यले आवश्यकता अनुसार त्यसको खोजबिन गर्न सक्छ । अर्कोतर्फ,अहिले जो कालिगढहरुलाई पक्राउ गरिएकामध्ये अधिकाशं ३० औं वर्षदेखि पोखरामै रहेर श्रम गरिरहेको बुझिएको छ । उनीहरुको अनुपस्थिति तथा सीपबिना सुनचाँदी व्यवसाय नै धरासायी हुन्छ भन्ने व्यवसायीको तर्कमा संघ सहमत नै छ ।
अर्कोतर्फ, पोखरा उद्योग वाणिज्य संघ नेपाल र भारतबीचको सदियौँ पुरानो सहमति अनुसार भारतीय नागरिकहरु नेपालमा व्यवसाय वा काम गर्न स्वतन्त्र छन् भने भारतीय भूमिमा नेपालीले पनि त्यही अधिकार प्रयोग गरिरहेको स्मरण गर्न चाहन्छ ।
पोखरा उद्योग वाणिज्य संघ, बजारको माग अनुसार सुनचाँदी आपूर्तिको व्यवस्था र संघीयता कार्यान्वयनसँगै सवै प्रदेशहरुमा समानुपातिक रुपले सुनचाँदी वितरण हुनुपर्ने पुरानो माग पुनः स्मरण गराउँदै जिल्ला प्रहरी कार्यालय कास्कीबाट गरिएको सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणलाई गम्भीरतापूर्वक लिँदै स्वतन्त्र र निश्पक्ष रुपले अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दछ । सुनचाँदी व्यवसायी संघले अनुसन्धानको क्रममा परिवारका सदस्यलाई नै आतंकित बनाइ,आरोपितको आग्रह र प्रमाणलाई वेवास्ता गर्दै सीसी क्यामेरा पनि बन्द गर्न लगाइएको भन्ने सुनचाँदी व्यवसायी संघ,कास्कीबाट यस संघमा प्राप्त निवेदनले संघलाई झन गम्भीर बनाएको छ । पोखरा उद्योग वाणिज्य संघ अनुसन्धानको नाममा व्यक्तिको अधिकार कुण्ठित पार्ने तथा मानव अधिकार उलंघनका घटनाप्रति यो संस्था मौन रहन सक्दैन ।
अतः पोखरा उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नहुने वातावरण सिर्जना गर्नका निम्ति कालिगढको न्यायोचित रिहाइ, व्यवसायी र कालिगढले वैधानिक रुपले प्राप्त गरेको सुनचाँदी फिर्ता गर्न तथा अवैध कारोबार निरुत्साहित गर्नका निम्ति पारदर्शी प्रक्रिया अवलम्बन गर्न पनि सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।
शोभा गौतम
महासचिव
Copyright © 2024 | All rights reserved.