0
प्रतिक्रिया
पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउँदै’ परियोजना शुरू गरेको छ । परियोजनाअन्तर्गत कलेजका विद्यार्थीले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् ।
उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् ।
मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीलाई नियुक्तिपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थी नियुक्त भएका छन् ।
स्नातक तहको बीएएसडब्लु र बीबीएसतर्फका विद्यार्थी पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् ।
कलेज सञ्चालक समिति अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञानमात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरू गरेको जानकारी दिए ।
‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिका सिकाउनका लागि हामीले यो परियोजना शुरू गरेको हौँ’, अध्यक्ष प्राडा पराजुलीले भने । नयाँ परियोजना विद्यार्थीका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ ।
क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले विद्यार्थीलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरू गरिएको बताए । श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिनेछ ।
विद्यार्थीलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दूतका रुपमा लेकसिटीका नियमित कार्यमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
कलेजले स्नातक तहमा व्यवस्थापनतर्फ बीबीएस र मानविकीतर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु (समाजिक कार्य) विषयमा पठनपाठन गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.