भदौ ०४, २०८२, बुधबार

पोखरामा वर्षा जारी, गण्डकीमा आज भारी र मुसलधारे वर्षा हुने


Advertisement Image
clock icon 6 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखका अनुसार, मनसुनी न्यून चापीय रेखा तराई आसपास रहेकाले आज देशभर मनसुन सक्रिय रहनेछ ।

आज दिनभर देशैभरि पूर्ण बदली रहनेछ । महाशाखाले देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि वर्षा भइरहेको छ । यो समाचार तयार गर्दा बिहान करिब १०ः३० बजेसम्म लगातार वर्षा भइरहेको छ । आज दिनभर वर्षा हुने अनुमान गरिएको छ । 

गण्डकी प्रदेशका केही स्थानमा आज भारी र मुसलधारे वर्षा हुने बताइएको छ । पोखराको बिहान १० बजेको तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । 

आज मधेस प्रदेश, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक-दुई स्थानमा मुसलधारे वर्षाको समेत सम्भावना छ । कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्नेछ ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली रहनेछ । 

राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुनेछ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने बताएको छ । 

साथै, ठूला तथा साना नदीनाला र खोलाको पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

Copyright © 2024 | All rights reserved.