0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबीच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ ।
शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिन बीच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ । सहरी विकास, पर्यटन र दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिनेछ ।
नगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम् रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उनले बताए । उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययतालाई समेत यसले महत्वपूर्ण सहयोग पुग्ने उनले बताए ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बताए ।
विशेषगरी प्राविधिक शिक्षा, मानव संशाधन र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उनले बताए ।
यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजन सञ्चालनमा छन् ।
Copyright © 2024 | All rights reserved.