भदौ ०२, २०८२, सोमबार

होटल प्रतिनिधि समाज पोखराको रक्तदानमा ७३ युनिट रगत संकलन


Advertisement Image
clock icon 4 days, 8 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल प्रतिनिधि समाज पोखराले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ युनिट रगत संकलन भएको छ । 

समाजका पूर्व कोषाध्यक्ष हरिलाल शर्मालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्र्र्दै पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले रक्तदान केवल एक सामाजिक उत्तरदायित्व मात्र नभई जीवन बचाउने महान कार्य भएको बताए ।

प्रत्येक दाताले आफ्नो अमूल्य समय र स्वास्थ्य खर्चेर कसैको जीवन बचाउने अवसर सिर्जना गरेको भन्दै उनले प्रशंसा गरे ।

उनले भने, ‘मानव जीवनमा स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू केही हुँदैन । दुर्घटना, शल्यक्रिया, प्रसूति, दीर्घरोग आदिमा तत्काल रक्तको आवश्यकता पर्छ र यस्तो अवस्थामा यस्तै रक्तदान कार्यक्रमहरूले ठूलो योगदान पु¥याउँछन् ।’

नियमित रूपमा रक्तदान गर्न सक्ने बानी समाजमा फैलियो भने एक जना पनि रगतको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था नआउने उनले दावी गरे ।

यस्तो जनहितकारी र मानवतावादी कार्यको नेतृत्व गरेकोमा म होटल प्रतिनिधि समाज पोखरालाई उनले धन्यवाद दिए । 

समाजका पूर्वअध्यक्ष एवं पोखरा-६ का वडा सदस्य दीपेन्द्र पहारीले संस्थाले समाज हितका लागि गरेको योगदानको प्रत्यक्ष साक्षी आफू रहेका भन्दै रक्तदान कार्यक्रम संस्थाको मानव सेवा र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण भएको स्पष्ट पारे ।

‘रक्तदान केवल स्वास्थ्यवान व्यक्तिको कर्तव्य मात्र होइन, यो जीवन उपहार दिने महान कार्य हो’, उनले भने,  ‘एक थोपा रक्तले कसैको जीवनमा नयाँ उज्यालो ल्याउन सक्छ। यस्ता कार्यले हाम्रो समाजमा सहानुभूति, सहयोग र एकताको भावना बलियो बनाउँछ ।’

नियमित रक्तदानलाई आफ्नो जीवन शैलीको हिस्सा बनाउन आवश्यक रहेको भन्दै उनले यसका लागि कुनै ठूलो खर्च वा साधन आवश्यक नपरे पनि यसको मूल्य अमूल्य हुने स्पष्ट पारे ।

समाजका अध्यक्ष माधव लम्सालले रक्तदान स्वास्थ्यका लागि सुरक्षित मात्र नभई जीवनका लागि आवश्यक पनि भएकाले भविष्यमा पनि निरन्तर रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए । 

उनले जीवन बचाउने यो कार्यमा हामी सबैको सानो योगदानले पनि ठूलो प्रभाव पार्न सक्ने भन्दै उनले कार्यक्रम सफल बनाउन रातदिन खटिने समाजका अध्यक्षसहित पदाधिकारी, प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मी तथा हौसला दिनुहुने सबैलाई विशेष धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘हाम्रो उद्देश्य केवल एक दिनको रक्तदान मात्र होइन, समाजमा रक्तदानप्रतिको सकारात्मक सोंच र निरन्तर अभ्यास फैलाउनु हो । आज सबैको सक्रिय सहभागिता देख्दा यो अभियान सफलतापूर्वक अझ अघि बढ्नेमा म ढुक्क छु ।’

समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक जीवराज उपाध्यायले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पारे । उनले आकस्मिक अवस्थामा हुने रगत अभावलाई न्यूनीकरण गर्न र समाजमा नियमित रक्तदानको संस्कृति फैलाउन कार्यक्रम निकै महत्वपूर्ण भएको बताए । 

समाजका सचिव शिव पौडेलले रक्तदान एक अत्यन्तै पवित्र र जीवन रक्षक कार्य भएको बताए । समाजमा धेरै मानिस आकस्मिक अवस्थामा रगतको अभावका कारण पीडित हुनुपरेको भन्दै उनले यही आवश्यकता बुझेर समाजले हरेक वर्ष कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराललगायतले रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।

Copyright © 2024 | All rights reserved.