0
प्रतिक्रिया
पाेखरा। इटालीको लाम्पेदुसा टापु नजिकै समुद्रमा बुधबार एक डुङ्गा पल्टिँदा कम्तीमा २६ जना आप्रवासीको ज्यान गएको छ भने धेरैजना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले यो घटनाको पुष्टि गरेको छ।
यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो दुर्घटनालाई "पीडादायक" भनेका छन्।
उनले भने, "प्रारम्भिक जानकारीअनुसार, २६ जनाको शव फेला परेको छ र झन्डै त्यति नै संख्यामा मानिसहरू हराइरहेका छन्।" इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले पनि लाम्पेदुसाबाट १४ नौटिकल माइल टाढा यो घटना भएको पुष्टि गरेका छन्।
प्राप्त जानकारीअनुसार, दुर्घटना भएको डुङ्गामा जम्मा ९७ जना आप्रवासी सवार थिए, जसमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुषको शव फेला परेको छ। इटालीको समाचार संस्था अन्साका अनुसार, यी शवहरूलाई लाम्पेदुसास्थित शवगृहमा लगिएको छ।
जीवित उद्धार गरिएकाहरूले दिएको बयानअनुसार, मंगलबार साँझ लिबियाको त्रिपोलीबाट दुईवटा डुङ्गा प्रस्थान गरेका थिए।
तीमध्ये एक डुङ्गा डुब्न लागेपछि त्यहाँका यात्रु अर्को डुङ्गामा सरेका थिए। अत्यधिक भारका कारण त्यो डुङ्गा पनि डुब्न सुरु भएको हो। हालसम्म ६० जनालाई जीवितै उद्धार गरी लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रमा लगिएको छ।
यूएनएचसीआरका अनुसार, यो वर्षको सुरुवातदेखि हालसम्म भूमध्यसागरको केन्द्रीय मार्गमा ६ सय ७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन्।
इटालीको गृहमन्त्रालयको तथ्यांकअनुसार, यस वर्ष ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेका छन्।
गृहमन्त्री पियान्तेदोसीले यस्ता जोखिमपूर्ण यात्रालाई रोक्न र मानव तस्करीमा संलग्न गिरोहमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारले उत्तर अफ्रिकी मुलुकसँग सहकार्य गरी आप्रवासन नियन्त्रणका लागि तालीम र आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ। एजेन्सी
Copyright © 2024 | All rights reserved.