असोज १८, २०८२, शनिबार

भजन चु्ड्का प्रतियोगितामा शुक्लागण्डकीको महेश्वर खनाल भजन समूह प्रथम


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवं राधाकृष्ण मन्दिर शान्ति आश्रमको सहआयोजनामा लामेआहालमा सम्पन्न १०औँ श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं भजन चुड्का प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका वडा नं २ का महेश्वर खनाल भजन समूह २ कोत्रे प्रथम भएको छ ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा धादिङको गजुरी गाउँपालिका वडा नं २ को भद्रकाली खैजरी भजन समूह द्वितीय, पोखरा महानगरपालिका वडा नं २५ हेमजाकाे मातृकेश्वर एकता भजन समूह तृतीय र शिशुवा सत्संग भजन समूह सान्त्वना भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट भेषभुुषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ण वाद्यवादनतर्फ शुक्लागण्डकी नगरपालिका वडा नं १ थप्रेकको तल्लीपोखरी भजन समूह पुरस्कृत भएको छ ।

प्रतियोगितामा १२ वटा समूह सहभागी थिए । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

यस्तै उत्कृष्ट भेषभुुषा र उत्कृष्ट वाद्यवादन स्वरुप पाँच/पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा प्रा.डा.कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम थिए ।

कार्यक्रममा गन्धर्व समाज र गगन नेवाः खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए । संस्थाका तर्फबाट उत्कृष्ट कार्यवापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सहभागी पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनु आवश्यक भएको बताए । उनले संस्कार र संस्कृति जगर्नेका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृतिहरू जोगाउँदै भावी पुस्तामा पुर्‍याउनुपर्नेमा जोड दिए ।

राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्ञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्ष यता महोत्सवसँगै प्रतियोगिता गरिँदै आइएको बताए ।

समूहका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष गणेश खत्रीले स्वागत र सदस्य विनोद भण्डारीले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.