0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो गृह जिल्ला डोटी जिल्लाको जोरायल गाउँपालिकामा छन् । गृहजिल्ला पुगेर उनी पारिवारिक भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
जोरायल गाउँपालिका कार्यालयले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको अध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रम उनी सहभागी भए । सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँसमेत सहभागी थिए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख भट्टले जोरायललाई पर्यटकीय स्थल बनाउन जगतगुरुको उपस्थितिमा यस ठाउँको इतिहासमा महिमा हुने गरी गरेको प्रयत्न सराहनीय रहेको बताए ।
गण्डकी प्रदेश प्रमुख भट्टले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयाम रहेको भन्दै सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजनकीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्ने स्पष्ट पारे ।
प्रदेश प्रमुख भट्टले भने, ‘हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।’
उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सबै नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने बताए ।
उनी भदौ ४ गते गण्डकी प्रदेश फर्किने कार्यक्रम रहेको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.