0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा कृष्ण जन्माष्टमी विशेष भजन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण मन्दिर संरक्षण समिति (ख) ले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा भक्तिमय भजनकीर्तन, धार्मिक झाँकी, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले सहभागी निकै रमाएका थिए ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भगवान् श्रीकृष्णले जीवनमा सत्य, धर्म, न्याय र कर्तव्य पालनाको सन्देश दिएको बताए । उनले श्रीकृष्णले दिएको गीता ज्ञान आज पनि हाम्रो जीवनमा मार्गदर्शक बन्न सक्ने गहन शिक्षा भएको स्पष्ट पारे ।
भगवान् कृष्णको आदर्श जीवनबाट प्रेरणा लिएर हामी सबैले समाजमा सत्य, प्रेम, करुणा र सदाचार फैलाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘यस कार्यक्रमले हाम्रो धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने कार्य गरेको छ। विशेषगरी युवा पुस्ताले कृष्णलीला, भजन र सांस्कृतिक प्रस्तुतिबाट नैतिक मूल्य, आत्मबल र संस्कृतिप्रतिको आस्था सिक्ने अवसर पाएका छन् ।
कार्यक्रमले हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ ।
प्रमुख वाचक पशुपति पौडेलले भगवान् श्रीकृष्णले सम्पूर्ण मानवजातिलाई धर्म, नीति र सत्यको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताए । उनले भने, ‘गीता उपदेशमार्फत श्रीकृष्णले कर्ममा आस्था राखी फलप्रतिको आसक्ति त्याग्ने सन्देश दिनुभएको छ, जुन सन्देश युगौँदेखि मानव समाजलाई मार्गदर्शन गरिरहेको छ ।’
‘यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले हाम्रो संस्कृति, परम्परा र धार्मिक आस्थालाई अझ बलियो बनाउन ठूलो योगदान पुर्याउँछन् । खासगरी युवापुस्तालाई सही मार्गमा अघि बढ्न, आध्यात्मिक चेतना जगाउन र सामाजिक सद्भाव कायम राख्न यस्तो अवसर अत्यन्तै उपयोगी हुन्छ’, उनले भने ।
भगवान् कृष्णको जीवनबाट प्रेम, करुणा, धर्म र सत्यको बाटो अँगाल्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने आवश्यक रहेको उनले स्पष्ट पारे ।
मन्दिर संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राधाकृष्ण आमा समूह अध्यक्ष सरस्वती कार्की, राधाकृष्ण टोल अध्यक्ष रामकृष्ण अधिकारीलगायत विभिन्न टोल प्रतिनिधि, आमा समूह, मन्दिर संरक्षण समिति पदाधिकारी, सदस्य तथा श्रद्धालु भक्तजन सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.