भदौ ०३, २०८२, मंगलबार

सूर्यचन्द्र विकास समाजद्वारा ११औं मालेपाटन खुला तीजगीत प्रतियोगिता आयोजना


Advertisement Image
clock icon 2 days, 5 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित सूर्यचन्द्र विकास समाजले यस वर्ष पनि ११औं मालेपाटन खुला तीजगीत प्रतियोगिता आयोजना गरेको छ । 

कार्यक्रम यही भदौ १० गते मालेपाटनस्थित बाराही माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गर्ने समाजको दावी छ ।

एउटा समूहमा बढीमा आठ जना हुनुपर्नेछ । समूह दर्ता संस्थाको कार्यालयमा धमाधम भइरहेको र भदौ ५ गतेसम्म गर्न जारी रहनेछ । प्रतियोगितामा सबै प्रतियोगीले मौलिक बोल (लय) मा तीजगीत तथा नृत्य प्रस्तुत गर्नुपर्नेछ । 

प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना स्थान हासिल गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट भेषभूषा र नृत्यलाई पनि तीन, तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

मौलिक तीजगीतको संरक्षण, प्रतिभावान कलाकारलाई अवसर, सामाजिक एकता, पर्यटन प्रवर्द्धन र समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष सावित्री कोइरालाले जानकारी दिइन् ।

साथै यस कार्यक्रममार्फत युवा पुस्तामा संस्कृतिप्रतिको रुचि बढाउने, अन्य संघ संस्थासँग सहकार्यद्वारा सांस्कृतिक गतिविधि सुदृढ गर्ने तथा विपन्न, महिला र विपन्न समुदायको सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको अध्यक्ष कोइरालाको भनाइ छ । 

सो कार्यक्रममा यस वर्ष पनि कास्की जिल्ला भित्रका अब्बल महिलामध्येबाट एक जनालाई ‘श्रष्टा सम्मान’ गरिने समाजका महासचिव दीपकप्रसाद बरालले जानकारी दिए । 

समाजका कोषाध्यक्ष माधव बास्तोलाका अनुसार प्रतियोगिताका लागि छ लाख ४५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट हुने शहीद स्मृति पुस्तकालय सञ्चालनका लागि खर्च गरिने उनले बताए ।

समाजका उपाध्यक्ष हेमराज भण्डारीका अनुसार प्रतियोगिताका लागि अध्यक्ष सावित्री कोइरालाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति र ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाइएको भण्डारीले जानकारी दिए । 

कार्यक्रममा प्रमुख प्रायोजक युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले सामाजिक क्षेत्रमा सक्रिय संस्था सूर्यचन्द्र विकाससँग जोडिन पाउँदा निकै खुशी लागेको बताए ।

कार्यक्रमका लागि युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले मुख्य प्रायोजन, भानु मेशिनरी सप्लायर्स पोखराले सहप्रायोजन गरेको छ ।

यसैगरी माता श्री जय लक्ष्मी सुनचाँदी दुकान र पोखरा-५ को वडा कार्यालयले विशेष सहयोग रहेको छ । 

तीन दशकभन्दा लामो इतिहास बोकेको सूर्यचन्द्र विकास समाजले विभिन्न चरणमा साहित्य, कला, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसनी सचेतना, स्वास्थ्य, संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, सामुदायिक विकास, सामाजिक सेवा, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा विविध क्षेत्रमा निरन्तर सकृय रहँदै आएको छ ।

Copyright © 2024 | All rights reserved.