0
प्रतिक्रिया
पोखरा । पोखरामा आफ्नै नातेदार किशोरीलाई जबरजस्ती बलात्कार र अर्की एक बालिकालाई यौन दुर्व्यवहार गरी भिडियोसमेत बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले पीडित र पक्राउ पर्ने दुवैको परिचय गोप्य राखेको छ ।
गत साउन ३० गते ती व्यक्तिलाई बाल यौनदुर्व्यवहार सामग्री (सीएसएएम) सहितको मोबाइलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतका अनुसार विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे अमेरिकाको नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसीएमइसी) ले नेपाल प्रहरीको साइबर ब्यूरोलाई साइबर टिपलाइन रिपोर्टमार्फत जानकारी गराएको थियो ।
सोही सूचनाका आधारमा साइबर ब्यूरोले अनुसन्धान गर्ने क्रममा पोखराका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुव्र्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको पाइएको थियो ।
त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो ।
डीएसपी बस्नेतका अनुसार पक्राउ परेका ती व्यक्तिमाथि जबरजस्ती करणी, बालबालिकाविरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.