0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित महोत्सव एक महिना चलेको थियो ।
महोत्सव समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि महानगरले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पोखरा महानगरभित्र तीनवटा श्रीकृष्ण मन्दिर रहेको भन्दै उनले पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकीन गर्ने अवस्था नरहेकोले रत्नचोकको श्रीकृष्ण मन्दिरलाई नै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने स्पष्ट पारे ।
श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटक भित्र्याउनका लागि आयोजना गर्न लागेको १०८ तारतम सागर पाठ पारायण कार्यक्रममार्फत पोखरामा धार्मिक पर्यटन प्रवर्द्धन हुने र त्यसमा महानगरको तर्फबाट समेत साथ र सहयोग रहने उनको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धार्मिक कार्यक्रममार्फत समाजमा सकारात्मकता प्रदान गर्ने बताइन् । धार्मिक कार्यक्रमले मानिसलाई समाजमा सकारात्मक कार्य गर्न उत्सुक बनाउने भएकाले मानिसमा सुख, समृद्धि र आनन्द प्राप्त भई द्वन्द्व हिंसा जस्ता घटनसमेत उनको भनाइ छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहन ढकालले मन्दिरमा आगामी दिनमा मन्दिरभित्र सिस महल निर्माण गर्ने र त्यसका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको समेत बताए ।
उनले आगामी वर्ष असोज महिनामा १०८ तारतम सागर पाठ पारायण कार्यक्रमको आयोजना गरि करिब पाँच लाख धार्मिक पर्यटक श्रीकृष्ण प्रणामी मन्दिरमा ल्याउने योजना रहेको ढकालले बताए ।
महोत्सवमा एसके डान्स स्कुलको तर्फबाट विभिन्न कृष्णसम्बन्धी नृत्य प्रस्तुतिसंगै बाइजुराज महिला समितिको तर्फबाट समेत नृत्य प्रस्तुति रहेको मन्दिरका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
श्रीमदवीतकमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भएको थियो भने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिएका थिए ।
श्रीमदवीतक चर्चामा हजारौं भक्तजनको सहभागिता रहेको समेत सचिव बरालले जानकारी दिए । महोत्सवमा संस्थाका उपाध्यक्ष गोपाल ठकुरीले स्वागत, कार्यक्रम संयोजक केशव प्रसाद बरालले धन्यवाद ज्ञापन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.