असोज १८, २०८२, शनिबार

तीज पर्व संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीक : प्रजिअ शर्मा


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले हिन्दू नारीको महान पर्व हरितालिका तीजको अवसरमा पहिलो पटक आयोजना गरेको तीज विशेष कार्यक्रम २०८२ सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीयो) रुद्रादेवी शर्माले तीजसँग महिला सशक्तीकरणका कार्यक्रम पनि जोड्न सके सुनमा सुगन्ध थपिने बताइन् ।

तीज पर्व हाम्रो संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीक भएको भन्दै उनले तीज पर्वले महिलाको अधिकार, समानता र सामाजिक भूमिकालाई उजागर गर्दै परिवार र समाजलाई अझ मजबुत बनाउन मद्दत पुर्‍याउने दावी गरिन् ।

यस्ता सांस्कृतिक कार्यक्रममा सहभागी भई परम्परा जोगाउने मात्र होइन, समाजलाई सकारात्मक ऊर्जा दिने काम पनि गर्न सकिने उनको भनाइ छ । 

धादिङ समाजले यसरी तीजको अवसरमा सबैलाई एकत्रित गरेको देख्दा खुशी लागेको भन्दै प्रजिअ शर्माले यसले हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणमा ठूलो योगदान पुर्‍याउने विश्वास लिएको बताइन् ।

धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष लक्ष्मीमाया थापाले समूह र समाजबीच नङ-मासुको सम्बन्ध रहेको बताइन् । उनले तीज पर्वले हामीलाई संस्कृतिप्रति गर्व गर्न सिकाउनुका साथै परम्परागत भेषभूषा, गीत-संगीत र नृत्यमार्फत हाम्रो मौलिकता प्रकट हुने स्पष्ट पारिन् ।

समाजका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डेले समाजले विगतमा पनि धादिङवासीबीच एकापसमा सहकार्य गर्दै सामाजिक, सांस्कृतिक र पारस्परिक एकताको वातावरण सिर्जना गर्दै आएको बताए ।

उनले तीज पर्वले हाम्रो मौलिक संस्कृति र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने दावी गरे । यस्तो कार्यक्रमले भेटघाट र आपसी समझदारी अझ बढ्छ भन्ने विश्वास लिएको पाण्डेले बताए ।

समाजका पूर्वअध्यक्ष नवराज दुवाडीले समाज सुख दुखको साथी भएको र धादिङवासीको हरेक दुःखमा साथ दिँदै आएको बताए 
समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले समाजमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष सरस्वती श्रेष्ठले तीज विशेष कार्यक्रममा धादिङवासीको उत्साहजनक उपस्थिति देख्दा निकै हर्ष लागेको बताइन् ।

उनले भनिन्, ‘तीज पर्व हाम्रो मौलिक संस्कृति हो, जसले महिलाको अधिकार, आत्मसम्मान र सामाजिक भूमिकालाई उजागर गर्छ । यसरी सम्पूर्ण सदस्य, परिवार तथा समुदायलाई एकै ठाउँमा ल्याएर तीज मनाउन पाउनु समाजका लागि गौरवको विषय हो ।’ 

कार्यक्रम संयोजक तोयनाथ सापकोटाले तीज हाम्रो समाजलाई एकै सूत्रमा बाँध्ने महान पर्व भएको भन्दै यो कार्यक्रम केवल सांस्कृतिक मनोरञ्जनका लागि मात्र नभई आपसी भेटघाट, माया-ममत्व र सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको बताए ।

हामीले हाम्रो मौलिक संस्कृति जोगाउने मात्र नभई नयाँ पुस्तामा यसको महत्व बुझाउने जिम्मेवारी पनि बोकेको स्पष्ट पार्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

समाजमा वरिष्ठ उपाध्यक्ष टिकाबहादुर लम्सालले हामी सबै एक ठाउँमा भेला भएर संस्कृतिको संरक्षण मात्र होइन, आपसी भाइचारा र सद्भावलाई पनि मजबुत बनाउने दावी गरे । 

महासचिव प्रकाश दुलालले कार्यक्रमले सांस्कृतिक सम्पदा जोगाउने मात्र होइन, समाजलाई एकजुट र सक्रिय बनाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । समाजले धादिङवासी र समुदायका लागि काम गर्दै आएको र भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी महिला दिदीबहिनी तीज गीत र नृत्यमा रमाउनुका साथै रंगीला अधिकारीलगायतले गीत प्रस्तुत गरेका थिए ।

Copyright © 2024 | All rights reserved.