भदौ ०४, २०८२, बुधबार

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित


Advertisement Image
clock icon 7 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । 

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।

जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै एक सय १४ रन मात्र बनायो । 

नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक-एक विकेट लिए । होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले  २८ रन बनाए । 

यसअघि होबार्ट हरिकेन्सविरुद्ध एक सय ८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । 

त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । 

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । 

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ ।

Copyright © 2024 | All rights reserved.