भदौ ०४, २०८२, बुधबार

गण्डकी प्रदेशसभाबाट अपाङ्गतासम्बन्धी विधेयक पारित


Advertisement Image
clock icon 7 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशसभाले “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।

२०८१ चैत २६ मा सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको विधेयक गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड (क) बमोजिम समितिको प्रतिवेदनसहित मंगलबार प्रदेशसभामा दफावार छलफल भई पारित भएको हो ।

विधेयक प्रस्तुत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले समितिमा  छलफलपछि विधेयक ल्याइएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिको समन्वय, सहजीकरण, अनुगमन तथा अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समितिसमेत गठन गरिसकेको जानकारी गराएका थिए ।

उनका अनुसार ऐनले अन्तरवर्गीयता, अपाङ्गताको विविधता, १० प्रकारका अपाङ्गतालाई समेट्ने परिभाषा, सवारीचालक अनुमतिपत्र पाउने व्यवस्था, दिवा सेवा केन्द्र सञ्चालन, सांकेतिक भाषाको विकास तथा अनुसन्धान, आवासीय शिक्षा, जोखिम अवस्थामा प्राथमिकतालगायतका व्यवस्था सुनिश्चित गर्नेछ ।

“अपाङ्गता भएका व्यक्तिमाथि हुने विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै उनीहरूको अधिकार, सम्मान र सशक्तीकरण सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। यस ऐतिहासिक क्षणलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु”, उनले भने ।

मन्त्री थापाले यो कानूनी व्यवस्थाले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तअनुरूप नीति निर्माण तथा विकासका हरेक प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् । मन्त्रीका अनुसार विधेयकले उनीहरूको सशक्तीकरण, स्वाभिमान र स्वावलम्बन प्रवर्द्धन गर्नेछ।

सामाजिक न्याय, समान अवसर र सम्मानजनक जीवनयापनतर्फको यात्रामा यो विधेयक महत्वपूर्ण साबित हुने उनले बताए ।

प्रदेश सभाका सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक कदमका रूपमा स्वागत गरेका छन् ।

सांसद डिल्लीराम सुवेदीले ऐन कार्यान्वयनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचको विषयलाई महत्वपूर्ण बताए ।

सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने अवस्था भएकाले विधेयक सबैका लागि महत्त्वपूर्ण भएको टिप्पणी गरे ।

सांसद सुशिला सिंखडाले प्रतिपक्षमै भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिलाई जोड दिएको विषय सबल पक्ष भएको उल्लेख गरिन् ।

सांसद पञ्चराम गुरुङले अपाङ्गतासम्बन्धी ऐन संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको दस्तावेज भएको बताउँदै अपाङ्गता भएका बालबालिकाको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई समेत जोड दिए ।

सांसद सुनिता थापाले आफू पनि अपाङ्गता समुदायको प्रतिनिधि भएको उल्लेख गर्दै यो विधेयक अपाङ्गता भएका समुदायको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । गण्डकीको यो कदम अन्तर्राष्ट्रिय जगतका लागि उदाहरण बन्न सक्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशमा ऐतिहासिक दिन प्रारम्भः शर्मा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा ऐतिहासिक दिन प्रारम्भ भएको भएको प्रतिक्रिया दिए । 

“विधेयक हामीले भनेजस्तो पूरै नआए पनि धेरै महत्वपूर्ण विषय समेटिएको छ । नियमावली बनेर कार्यान्वयन तत्काल सुरु हुन्छ भन्ने पूर्ण विश्वास छ”, उनले भने । 

गण्डकी प्रदेश बासी सबै अपाङ्गता भएका व्यक्तिका लागि आजको दिन सुखद दिन भएको उनले उल्लेख गरे ।

अपाङ्गतासम्बन्धी विधेयक ल्याउन पहल गर्ने यसअघिका सामाजिक विकासमन्त्री एवं कार्यान्वयनमा विशेष जोड दिने मुख्यमन्त्रीसहित अहिलेका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापालाई उनले धन्यवाद दिएका छन् । 

अहिलेका सामाजिक विकास मन्त्री कै नेतृत्वमा ऐन कार्यान्वयनका लागि नियमावली बनेर यसको कार्यान्वयन तत्काल सुरु हुने विश्वास उनले गरेका छन् । 

“सात वटै प्रदेशमा गण्डकी प्रदेश अपाङ्गतासम्बन्धी नीति ल्याउन र ऐन ल्याउन पहिलो प्रदेश बनेको छ । प्रदेश सरकार कार्यान्वयन गर्न पनि उत्कृष्ट बन्छ भन्ने अपेक्षा गरेका छौंँ”, उनले भने ।

Copyright © 2024 | All rights reserved.