0
प्रतिक्रिया
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव-२०८२’ आयोजना गरेको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महाेत्सव यही भदौ १० र ११ गते हुनेछ ।महोत्सवमा १० हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ ।
‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्धननमा योगदान पुर्याऔं’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएकाे अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन् ।
महाेत्सवले नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्य छ।
उनका अनुसार गत वर्ष झण्डै आठ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिताको पनि अपेक्षा गरिएको छ ।
महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४-४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् ।
महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन बिहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य र्याली निकालिने जानकारी दिइन् ।
र्यालीमा पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदीबहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहनेछ । र्यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ ।
दोस्रो दिन बिहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरणसम्बन्धी दुईटा ‘टक-शाे’ (संवाद कार्यक्रम) हुनेछन् ।
यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् ।
उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवर्धनका नयाँ ढोका खुल्नेछन् ।’
महोत्सव सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिइन् ।
पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पुर्याउने बताए । उनले आगामी वर्षदेखि वार्षिक रुपमा टेवानको तीज महोत्सवका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पुर्याउने बताए ।
पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने उनकाे अपेक्षा छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
महोत्सवको मुख्य प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग छ ।
Copyright © 2024 | All rights reserved.