भदौ ०६, २०८२, शुक्रबार

बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारी पोखरा आउँदै


Advertisement Image
clock icon 20 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी पोखरा आउने भएका छन् । नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिले आयोजना गरेको तीज विशेष तथा सम्मान कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी पोखरा आउने भएका हुन् । उनी बिहीबार साँझ नै पोखरा आइपुग्ने बताइएको छ । 

शुक्रबार पोखरा-५ स्थित मनकामना मन्दिरको सभाहलमा बिहान १० बजेदेखि शुरु हुने तीज विशेष तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रम संयोजक लालकाजी श्रेष्ठले जानकारी दिए । 

तीज विशेष कार्यक्रमअन्तर्गत दर खाने, एसइई उत्तीर्ण विद्यार्थी र समितिको प्रत्येक गतिविधिमा सघाउने व्यक्तित्वलाई सम्मान गरिने संयोजक श्रेष्ठले जानकारी दिए । 

समितिले हरेक वर्ष तीज विशेष कार्यक्रम गर्दै आएको छ । समितिले कार्यक्रममा केन्द्रीय स्तरका नेता, धादिङ र कास्की कांग्रेसका नेताहरु सहभागी गराएर पार्टीको आन्तरिक गतिविधि र राष्ट्रिय राजनीतिका बारेमा बहस चलाउँदै आएको छ । 

यस वर्षको कार्यक्रममा पनि धादिङ र कास्की कांग्रेसका नेताहरु समेत सहभागी हुने सचिव श्याम इटनीले जानकारी दिए । 

समिति सभापति कमल बहादुर पाण्डेले धादिङ-पोखरा सम्पर्क समितिले परम्परा, एकता र समाजसेवामा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै पोखरामा रहेका लोकतन्त्रप्रेमी धादिङवासीलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरे ।

तीज पर्वले आमा-दिदीबहिनीबीच आत्मीयता र हार्दिकता बढाउने भएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए । 

उनले भने, “हाम्रो संस्कृति हाम्रो पहिचान हो, यसलाई जोगाउने जिम्मेवारी हाम्रो साझा कर्तव्य हो, तीजले महिलाको पीडा, खुशी र आकांक्षा गीत र नृत्यमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्दछ ।’

समिति सचिव श्याम इटनीले समितिले आयोजना गर्ने कार्यक्रमले सदस्यबीचको सम्बन्ध बलियो मात्र नबनाई समाजमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले भने, “हामी सबैले आफ्नो मूल पहिचान र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व बुझाउनुपर्छ, परम्परागत पर्व तीज हाम्रो गौरव र आत्मसम्मानसँग जोडिएको छ ।’

उनले समितिलाई अझ सक्रिय, परिणाममुखी र समाजमुखी बनाउन सबैको सहकार्य आवश्यक भएकोमा जोड दिएका थिए ।

समितिका संस्थापक सभापति केदार धमलाले नेपाली कांग्रेस धादिङ र कास्कीलाई जोड्ने गरी पुलको काम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.