0
प्रतिक्रिया
पोखरा । चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने भएको छ ।
सिचुवान एयरलाइन्स यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेको बताइएको छ ।
प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्न तयार भएको छ । यसका लागि औपचारिक रुपमा प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षीय छलफल भइरहेकोले छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट आउने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुनेछन् ।
जजीराले यस अघि भैरहवाबाट दुई पटक उडान गरिसकेको छ । जजिराले २०७९ फागुनमा दोस्रोपटक उडान थियोे । यो वायुसेवाले त्यसअघि साढे २ महिना उडान गरेर प्राविधिक कारण देखाउँदै बन्द गरेको छ ।
भैरहवामा पटकपटक उडान गरेको सेवा दिइरहेको यो वायुसेवाले फेरि नियमित उडान गर्न चासो देखाएको छ ।
पोखरामा पनि यसअघि पूर्ण क्षमता यात्रु ल्याएको, पोखराबाट काठमाडौं आएको र चार्टर उडान गरिसकेकाे सिचुवान एयरलाइन्सले नियमति उडान गर्न चाहेको हो ।
यो वायुसेवाले यसअघि पोखरा विमानस्थलमा २०८० असार ६ गते एयरवसको ए३१९ नामक जहाजबाट पहिलोपटक उडान गरेको थियो ।
चीनबाट पूर्ण क्षमतामा आएको उक्त जहाज पूर्ण क्षमतामा यात्रुसहित काठमाडौं आएर चीनको छेन्दु फर्किएको थियो । यसले त्यसपछि पनि २०८० असारको ८ र ९ गते फेवातालमा भएको नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने काम गरेको थियो ।
पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई सरकारले आकर्षक छुट सुविधा दिएको छ । हाल पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने शुल्क सम्पूर्ण छुट दिइएको छ ।
नेपाल वायुसेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएकोले छुट तथा सहुलियतमा निरन्तरता छ ।
सरकारले गत वर्ष साउन २८ मै ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको छ । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।
यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छूट छ । नेपाल पर्यटन बोर्डले पाउने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा पूर्ण छुट छ । यी दुई विमानस्थलमा नेपाल वायुसेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ । यी दुई विमानस्थलमा नेपाल आयल निगमले दिने इन्धनमासमेत काठमाडौंभन्दा झन्डै दुई सय डलरसम्म सस्तो छ ।
Copyright © 2024 | All rights reserved.