0
प्रतिक्रिया
पोखरा । लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीलाई यतिबेला चुनाव लागेको छ । छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ २० र २१ गते हुने १५औं अधिवेशनबाट नयाँ नेतृत्व चुन्ने जिम्मेवारी उद्योगी व्यवसायीलाई नै छ ।
नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएपछि को ठीक भन्दै विश्लेषण पनि भइरहेको छ । नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेद्वारका दौडधूप म्याराथन शैलीमा तीव्र छ । केही उद्योगी व्यवसायी कित्ताकाट गरेरै उम्मेद्वारका पछाडि लागेका छन् ।
चुनावी मैदानमा वर्तमान कार्यसमिति उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारीको समूह छ । दुवै समूहले संघमा गर्ने आआफ्ना प्रतिवद्धतासहित संघका मतदाता उद्योगी व्यवसायी भेटघाट र छलफल तीव्र पारेका छन् ।
पोखरा महानगरपालिका (साविक लेखनाथ) का आठ वडा, कास्कीको रुपा र मादी लेखनाथ उद्योग वाणिज्य संघको कार्यक्षेत्र पर्छ । संघमा दुई हजार १९ जना सदस्य छन् ।
यस्तो छ राजेन्द्र ओझा समूहको प्रतिवद्धता
चुनाव केन्द्रित गरेर ओझा समूहले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेको छ । ओझा समूहले ‘हाम्रो आधार, हाम्रो दृष्टि, हाम्रो लक्ष्य, हाम्रो प्रतिवद्धता र विशेष योजना’ भन्ने नाराका साथ छ बुँदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
अध्यक्षका उम्मेद्वार ओझाको अध्यक्षमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उपेन्द्रराज सुवेदी राजुले स्वागत र महासचिवका उम्मेद्वार जीवन तिवारीले सञ्चालन गरेका थिए । सो अवसरमा संघका पूर्वअध्यक्ष बलराम ढकाल र लक्ष्मीप्रसाद त्रिपाठीसमेत सहभागी थिए ।
संघले व्यवसायीको हित र संरक्षणलाई प्राथमिकता दिने, व्यापार-व्यवसायमैत्री नीति निर्माणमा जोड दिने र युवामुखी उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने ओझा समूहको प्रतिवद्धता छ । साथै स्थानीय उद्योग तथा पर्यटनलाई विस्तार गर्ने, व्यवसायीको समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने र महिलाको सहभागिता बढाउने प्रतिवद्धता समेत यो समूहको छ ।
आफूहरूको टिमलाई व्यवसायी-हितैषी, पारदर्शी र समन्वयकारी रूपमा प्रस्तुत गर्ने यो समूहले उद्घोष गरेको छ ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेद्वार ओझाले भने, “हामी व्यवसायीका साझा मञ्च हौँ, सदस्यको अधिकार र हित सुरक्षित गर्न हामी दृढ छौँ, पारदर्शिता र उत्तरदायित्व हाम्रो मुख्य आधार हुनेछ ।”
उनले स्थानीय कृषिका उत्पादन, हस्तकला र घरलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री, डिजिटल भुक्तानी र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना सुनाए ।
उद्योगी व्यवसायीको समस्या समाधान गर्नुका साथै डिजिटल साक्षरता र प्रविधिमैत्री व्यवसायिक वातारण निर्माणमा ध्यान दिइने उनले स्पष्ट पारे । उनले भने, ‘व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेस्क स्थापनाका अलवा अत्याधुनिक प्रविधिमैत्री उद्योग वाणिज्य संघ बनाइने छ ।’
उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेसन र ईपेमेन्ट सजिलै उपलब्ध गराउने भन्दै लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएको उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार सुवेदीले अनुभवी र योग्य राजेन्द्र ओझाको समूह ‘धैर्यता, निरन्तरता, क्रमागत, उद्यमशीलता, विधिको नेतृत्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको बताए ।
उनले हरेक वर्षमा हुने महोत्सवलाई अबदेखि एक कार्यकाल एक ऐतिहासिक महोत्सव आयोजना गर्ने प्रस्ताव गरे ।
उनले महोत्सव गर्दा लेखनाथको व्यवसायलाई प्राथमिकता, स्थानीय उत्पादनको प्रवर्द्धन र व्यवसाय प्रवर्द्धनमुखी कार्यक्रम गर्ने बताए ।
पहिले भएका छुटसम्बन्धी सम्झौतालाई निरन्तरता दिने भन्दै उनले आगामी कार्यकालमा बीमा, यातायात, होटल, शिक्षा, स्वास्थ्य र व्यवसायसम्बन्धी थप सम्झौता गर्ने स्पष्ट पारे ।
उनले भने, “संघले विगतमा गरेका राम्रा कामलाई निरन्तरता दिँदै नयाँ प्रविधि र बजार व्यवस्थापन प्रणाली लागू गर्ने हाम्रो योजना छ ।”
महासचिवका उम्मेद्वार तिवारीले डिजिटल/वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत संघमा आवद्धमा व्यवसायीलाई ईकमर्स, अनलाइन बँैकिङ, कर तथा राजस्व डिजिटल प्रणालीमा दक्षता बनाउने बताए ।
उनले रुपा र मादी गाउँपालिकासँग सहकार्य गरी स्थानीय उत्पादन, पर्यटन, र होम स्टे प्रवर्द्धनमा ध्यान दिने स्पष्ट पारे । तिवारीले संघको स्थापना दिवस (असार २०)लाई व्यवसायीको उत्सवको रुपमा मनाउँदै उत्कृष्ट व्यवसायी सम्मान, प्रेरणादायी सत्रको आयोजना गर्ने योजना सुनाए ।
संघका पूर्वअध्यक्ष बलराम ढकालले सामूहिक नेतृत्व र संस्थागत विकासमा काम गर्न सुझाव दिए । उनले आर्थिक संकटको कारण उद्योगी व्यवसायीको गिरेको मनोवल उकास्ने योजना आवश्यक भएको बताए ।
ओझा समूह
वरिष्ठ उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’, प्रथम उपाध्यक्ष मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्ष धिरजकुमार श्रेष्ठ, महासचिव जीवन तिवारी, उपमहासचिव लक्ष्मीप्रसाद ढुंगाना ‘एलपी’, कोषाध्यक्ष टिकाराम सापकोटा छन् । यस्तै खुला सदस्यमा घनश्याम ढुंगाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी ‘सन्तोष’, महिला सदस्यमा सपना सुवेदी तिवारी र लक्ष्मी ठाकुर छन् । संघको एसोसिएट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा वीरभद्र कंडेल छन् ।
यस्तो छ जानुका पराजुली अधिकारी समूहको योजना
अधिकारीको समूह स्थानीय उत्पादन (जेठोबूढो चामल, मह कफी, उखु) को प्याकेजिङ, ब्राण्डिङ र बजारीकरण गर्ने योजनामा छ । ‘इमान्दारिता, पारदर्शिता र लगनशीलता व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ सो समूहले लेखनाथका सानाठूला उद्योगी व्यवसायीको हक हितमा आवाज उठाउनुका साथै निजी क्षेत्रको नीतिगत सुधारमा ध्यान दिने योजना बनाएको छ ।
बेगनासलगायतका सात तालमा पर्यटनको आकर्षण गराउन सक्ने खालका गतिविधि गर्न तीन तहका सरकारसँग समन्वय र सहकार्य गर्नुका साथै धर्म संस्कृतिको संरक्षण र जगेर्नाको लागि बाराह मन्दिरलगायतका धार्मिक क्षेत्रमा धार्मिक पर्यटन भित्र्याउने खालका गतिविधि गर्ने स्पष्ट पारेको छ ।
अध्यक्ष पदका उम्मेद्वार जानुका पराजुली अधिकारीले आफ्नो टिम समावेशी भएको दावी गरिन् । उनले संघको इतिहासमै पहिलोपल्ट महिला नेतृत्व आउने लक्ष्यका साथ चुनावी दौडमा होमिएको बताइन् ।
समग्र व्यवसायीको हकहित, संरक्षणसहित व्यवसाय प्रवद्र्धनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
उनले व्यवसायीको हकहित र समस्या समाधानका लागि नीतिगत तहमा आफ्नो आवाज पुर्याउने प्रतिबद्धता जनाएकी छन् ।
साततालको बाटिका सहर लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवाला निकायसँग सहयोग गर्ने, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापनका लागि तीन तहका सरकारसँग सहकार्य गर्ने, बेगनासको तालवाराह मन्दिरको प्रचार गर्ने, कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिने आफ्नो लक्ष्य रहेको उनले बताइन् ।
अधिकारी समूह
वरिष्ठ उपाध्यक्षमा गोपीपचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आइडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन् । यस्तै, खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी तथा एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, सदस्य शर्मिला श्रेष्ठ र गंगा परियार छन् ।
Copyright © 2024 | All rights reserved.