0
प्रतिक्रिया
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा तीज उत्सव मनाएको छ । तीज उत्सव कार्यक्रममा बोल्ने वक्ताले शैक्षिक परामर्शको क्षेत्रमा महिला नेतृत्व र सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले शैक्षिक परामर्शदाताका रुपमा महिला सहभागिता वृद्धि गर्न र संस्थागत नेतृत्वमा पनि महिलालाई पु¥याउन इक्यान कास्कीले भूमिका खेल्नुपर्ने बताइन् ।
‘इक्यान कास्कीले शैक्षिक क्षेत्रमात्र नभइ अन्य सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै आइरहेको छ,’ उनले भनिन्, ‘अब विदेश पढ्न गएका विद्यार्थीलाई सवल र सक्षम नागरिक बनाएर स्वदेश फिर्ता गर्ने अभियानमा पनि भूमिका खेल्नुपर्छ ।’
उनले युवा र शिक्षासँग सम्बन्धित कार्यक्रममा इक्यान कास्कीसँग गण्डकी प्रदेश सरकारले सहकार्य गरेर काम गर्ने बाटो खुला रहेको बताइन् ।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षत्रीले शैक्षिक परामर्श क्षेत्रमा महिला नेतृत्वमा पुग्नुपर्छ भन्ने विषयमा संस्था गम्भीर रहेको बताए । उनले यस क्षेत्रमा महिलाको सहयोग महत्वपूर्ण रहे पनि ओझेलमा परेको जस्तो देखिएको उल्लेख गरे ।
अस्ट्रेलियाको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट एवं अस्ट्रेलियन सिटी इन्टरनेस्नल कलेजकी निर्देशक रञ्जु थापाले महिला शिक्षित हुँदा परिवार नै शिक्षित हुने बताइन् । उनले नेपालबाट अस्ट्रेलिया पुगेका विद्यार्थीलाई सही शिक्षा दिएर नेपाल फर्काउने आफूहरुको ध्येय रहने स्पष्ट पारिन् ।
‘शिक्षा क्षेत्र विशुद्ध व्यवसाय मात्रै होइन, सामाजिक एवं आर्थिक मूल्य मान्यतालाई परिस्कृत गर्ने माध्यम पनि हो,’ उनले भनिन् । भगवान शिव आफै अर्थ नर र अर्थ नारीको रुप भएको बताउँदै उनले लैंगिक समानताका सवालमा शिवबाट सिक्नुपर्ने भनाइ राखिन् ।
कार्यक्रममा ब्रिलियन्ट एजुकेसनकी निर्देशक कल्पना बस्नेत, एजेन्ट कनेक्टकी निर्देशक तारा गुरुङ, सञ्चारकर्मी एवं व्यवसायी सविता ढकाल, न्याप्सकी मार्केटिङ म्यानेजर गीता राजवहाकलगायतले तीजलाई महिला स्वतन्त्रताको पर्वको रुपमा मनाउनुपर्ने उल्लेख गरे ।
इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्रैले महिला सशक्तीकरण र पर्वलाई जोड्ने उद्देश्यले तीज मनाउने कार्यक्रम गरिएको बताए । इक्यान कास्कीले भदौ २० र २१ गते पोखरामा आठौं इक्यान शैक्षिक मेला आयोजना गर्न गइरहेको जानकारी उनले दिए ।
संस्थाका उपाध्यक्ष सन्तोष शाहीले सहभागीलाई स्वागत गर्दै तीजको शुभकामना दिए । संस्थाका सचिव सुरेन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा तीज कार्यक्रममा संयोजक डम्बरबहादुर जिसीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा कलाकार माया गुरुङ, रामजी पौडेल, विकास नेपाली, प्रशान्त तामाङ लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
Copyright © 2024 | All rights reserved.