0
प्रतिक्रिया
पाेखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले नेताहरूका खोक्रा भाषण र आश्वासनले युवा पलायनको विकराल समस्या समाधान नहुने बताएका छन् ।
देशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्ने तर भाषणमा मात्रै युवालाई रोक्ने कुरा गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो ।
शुक्रबार स्याङ्जाको भिरकोटमा आयोजित तीज गीत प्रतियोगितामा उनले युवालाई भाषणमा नभई देशमै भविष्य देख्ने आधार चाहिएको बताए ।
नेताहरूले माइक पाउनासाथ एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिले देश विकासमा अवरोध पुगेको उनले टिप्पणी गरे ।
माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको भन्दै गुरुङले यसले देश विकासमा पनि अवरोध गरेको स्पष्ट पारे ।
देशलाई समृद्ध बनाउन सके मात्र युवा पलायन रोकिने भन्दै उनले जडीबुटी, पर्यटन र कृषि जस्ता क्षेत्रमा सरकारले ठोस लगानी र योजना ल्याउनुपर्नेमा जोड दिए ।
युवाहरूको विदेशिने बाध्यतालाई इंगित गर्दै उनले भने, ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुँदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषणभन्दा पनि रोजगारीको खाँचो छ ।’
उनले सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै काम सुरु हुने उनले बताए ।
‘सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने प्रक्रिया द्रूत गतिमा अगाडि बढेको छ,’ उनले भने । साथै, स्याङ्जाका जोखिमयुक्त ग्रामीण सडकलाई सुरक्षित बनाउने अभियान पनि निरन्तर चलिरहेको गुरुङले जानकारी दिए ।
विकास कुनै एक व्यक्ति वा दलले मात्रै गर्न नसक्ने भन्दै उनले सबै राजनीतिक दल, नागरिक र सरकारको साझा प्रयासबाट मात्रै देश बन्ने धारणा राखे ।
Copyright © 2024 | All rights reserved.