भदौ ०७, २०८२, शनिबार

पोखरा-१७ को तीज गीत प्रतियोगितामा नारी शक्ति आमा समूह प्रथम


Advertisement Image
clock icon 6 hours, 28 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हरितालिका तीजको अवसर पारेर पोखरा महानगरपालिका वडा न १७ ले आयोजना गरेको तीजगीत प्रतियोगितामा नारी शक्ति आमा समूह प्रथम भएको छ । प्रथम भएको समूहले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा जनजागरण आमा समूह दोस्रो हुँदै १० हजार, सिद्धार्थ नमुना आमा समूह तेस्रो हुँलै सात हजार र शीतल चौतारी आमा समूहले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा १२ समूहले प्रतिस्पर्धा गरेका थिए ।

साथै उत्कृष्ट भेषभूषामा तल्लो विरौटा आमा समूह र उत्कृष्ट नृत्यतर्फ मेलमिलाप आमा समूह उत्कृष्ट बनेका छन् । उत्कृष्ट भेषभूषा र नृत्यलाई तीन/तीन हजार रुपैयाँ र सहभागी सबै समूहलाई प्रमाणपत्रसहित एक/एक हजार रुपियाँ प्रदान गरिएको थियो ।

प्रतियोगिताका निर्णायकमा शान्ति गुरुङ, बालु पुन, करण लामा र दिलीप गायक थिए । वडा कार्यालयले ‘उद्यमशीलता विकास तथा नेतृत्वमा महिला सहभागिता’ विषयक मौलिक तीजगीत प्रतियोगिता तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले तीजलाई परम्परागत मौलिक गीतमार्फत पुनर्जीवित गर्नुपर्ने बताइन् । उनले संस्कार, संस्कृति र परम्परा संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

वडाध्यक्ष राधिका शाही योगीले महिला सशक्तीकरणसँगै संस्कृति संरक्षणका लागि कार्यक्रम गरिएको बताइन् । उनले भनिन्, ‘हामी जनतालाई सबै तवरले घर घरको सिंहदरबार बनाउन लागिपरेका छौं । त्यसै अन्तर्गत तीजगीत प्रतियोगिता गर्दै आएका छौँ ।’

कार्यक्रममा वडासदस्य शिवराम भण्डारी, तारा परियार, विष्णुकुमारी थापा र बिक्रम गुरुङ, वडा सचिव सुरेन्द्रप्रसाद शर्मा, पत्रकार सुष्मा पौडेल, गायक पुरुषोत्तम न्यौपाने, समाजसेवी उर्मिला खड्का, बिना लोहनी, रीता सुवेदी, उत्तम सिग्देल, बैकुण्ठ भण्डारी, प्रवित्रा रेग्मी, राधादेवी लम्साल, प्रभा खत्रीलगायतले बोलेका थिए । कार्यक्रममा लेबेनी गार्डेन मन्टेसरीका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Copyright © 2024 | All rights reserved.