भदौ ०८, २०८२, आइतबार

बारा-पोखरा सम्पर्क समाजको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ निर्वाचित


Advertisement Image
clock icon 4 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बारा-पोखरा सम्पर्क समाजको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । समाजको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा राजु देवकोटा, उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा उमेशकुमार ठाकुर, कोषाध्यक्षमा विजेन्द्र चौधरी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा ओमनाथ तिमल्सिना, राहुल पासवान, केशव दाहाल, दीनानाथ दवाडी, निरज जयसवाल, दन्तकुमारी कार्की, प्रियंका तिवारी र भूपेन्द्र चौधरी छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै  वैदेशिक रोजगार वार्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले समाजले पोखरामै बसेर बारा जिल्लाका नागरिकलाई एक आपसमा जोड्ने, सहयोग गर्ने र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले समाजले आयोजना गर्ने सामाजिक, शैक्षिक र परोपकारी कार्यले जिल्लाको नाम उच्च राख्न योगदान दिएको भन्दै आगामी दिनमा अझ संगठित र प्रभावकारी कार्यक्रमहरू गर्न आवश्यक रहेको उल्लेख गरे ।  

उनले भने, “समाजले बाराबाट टाढा बस्ने नागरिकलाई पोखरामा एउटा परिवारको भावना दिएको छ, यसले केवल भेटघाट गर्ने ठाउँ मात्र नभई आपतविपतमा सहयोग गर्ने आधार बनेको छ ।” 

विशेष अतिथि डा. शेषरमण न्यौपानेले समाज भनेको केवल संगठन मात्र नभई भावना र विश्वासको साझा थलो भएको बताए ।

उनले यस्तो संस्थाले एक अर्काबीच सहयोग, सद्भाव र प्रगतिशील सोचको जग बसाल्ने स्पष्ट पारे । आगामी दिनमा समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा अझ बढी सक्रिय भूमिका खेल्ने अपेक्षासमेत गरे ।

संस्थापक अध्यक्ष माधव खतिवडाले बाराका नागरिकलाई पोखरामै संगठित गरी आपसी सहयोग, सद्भाव र पहिचानको संरक्षण गर्ने उद्देश्यले समाजको परिकल्पना गरिएको बताए । 

उनले भने, “हामीले बाराका नागरिकलाई पोखरामै एउटै थलोमा जोड्ने उद्देश्यले यो समाजको जग हालेका थियौँ। आज यो संस्था विश्वासिलो, जिम्मेवार र सेवाभावनाले परिचालित भएर अघि बढिरहेको देख्दा गर्व लाग्छ ।”

नयाँ नेतृत्वले समाजलाई अझै सबल बनाउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नयाँ कार्यसमिति चयनमा संस्थापक अध्यक्ष माधव खतिवडा, उदयकान्त तिवारी, दिलिप कुमार श्रेष्ठ, गोविन्द खतिवडा, प्रहरी निरीक्षक सुमित कुशवाहालगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष होमविलास सापकोटाको अध्यक्षतामा भएको थियो । सोही अवसरमा आयोजित हरितालिका तीजको दर खुवाउने कार्यक्रम संयोजन कोषाध्यक्ष गंगा लामिछानेले गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.