0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १४ काजीपोखरास्थित कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा विद्यार्थी र विभिन्न टोलका आमा समूह गरी नौ टिम सहभागी थिए ।
सहभागीले आआफ्ना प्रस्तुतिमार्फत महिलाका बेदना, लैङ्गिक समानता, महिला सशक्तीकरण, उच्च शिक्षा हासिल गर्नुपर्ने आवश्यकता, रोजगारीको लागि विदेशिनु परेको बाध्यता र त्यसले ल्याउने सामाजिक-पारिवारिक पीडालाई प्रस्तुत गरेका थिए ।
साथै सरकारले महिलामैत्री नीतिलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा आशा-गुनासो पनि गीतमार्फत व्यक्त गरिएको थियो ।
प्रतियोगितामा भूतपूर्व सैनिक सक्रिय टोल प्रथम हुँदै चार हजार, लोकमाया घर्तीको समूह दोस्रो हुँदै तीन हजार सपना श्रेष्ठको समूह तेस्रो हुँदै दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सहभागी सबै समूहलाई सहभागिता पुरस्कार स्वरूप एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बन्दना कार्की केसीले तीज जस्ता मौलिक पर्वहरूले समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने बताइन् । उनले महिलाको अधिकार र अवसर विस्तारका लागि यस्ता सांस्कृतिक कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरिन् ।
तीज केवल महिलाको मात्र नभई परिवार र समाजलाई एकताबद्ध बनाउने महत्वपूर्ण पर्व भएको भन्दै कार्कीले गीत, संगीत र नृत्यमार्फत संस्कृतिको संवर्द्धन गर्ने यो अभियान निरन्तर हुन जरुरी रहेको बताइन् ।
प्रतियोगितामा सहभागी दिदीबहिनीले प्रस्तुत गरेका गीत-संगीतले हाम्रो संस्कृति मात्र होइन, चेतना जगाउने सन्देश पनि दिएको उनको भनाइ छ ।
आजको कार्यक्रमले प्रतिभा उजागर गर्न मात्र होइन, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने अवसर पनि दिएको कार्कीले बताइन् ।
कालिका टोल विकास संस्थाका अध्यक्ष टुकबहादुर गुरुङले स्थानीय स्तरमा सामुदायिक एकता र सहकार्य बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
क्याम्पस प्रमुख वीरेन्जी गौतमले आगामी दिनमा क्याम्पस र टोल विकास संस्था मिलेर अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै क्याम्पसलाई सबल बनाउन सकिने बताए । कार्यक्रम सञ्चालन सबिता गौतमले गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.