0
प्रतिक्रिया
पोखरा । पोखरा मुग्लिन सडक योजना (पूर्वी खण्ड) को म्याद तीन महिना थपिएको छ । यसअघि तीन पटक थपिएको म्याद असार २९ मा सकिएको थियो ।
चौथो पटक तीन महिना थप भएसँगै आगामी असोज २५ सम्म योजनाको म्याद कायम रहनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो ।
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो ।
कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको छ । अब थोरैमात्र काम बाँकी रहेको बताइन्छ ।
सम्झौता भएको तीन वर्ष र पछिल्लो ४ सय ५६ दिनमा कालोपत्रको काम सकिएको थियो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा लागेको छ ।
Copyright © 2024 | All rights reserved.