0
प्रतिक्रिया
पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित ‘समता काव्य सन्ध्या’ लाई गजल विशेषका रुपमा मनाएको छ ।
‘समता काव्य सन्ध्या’ को ३८४ औं शृङ्खला कुशेऔंसीको दिन अर्थात् युवाकवि मोतीराम भट्टको समेत जन्मतिथि परेकाले समस्त पिताहरुलाई शुभकामना तथा मोतीराम भट्टप्रति श्रद्धाञ्जली अर्पित गर्दै गजल विशेष कार्यक्रम गरेको हो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले युवाकवि मोतीराम भट्ट छोटो समय बाँचेर पनि नेपाली साहित्यको अद्वितीय सेवा गरेको बताए । समस्त युवाले उनीबाट धेरै पाठ सिक्न सक्छन् भन्दै नेपाली गजल विधाका प्रारम्भकर्ता भएकाले नेपाली गजल स्रष्टाले उनलाई भूल्न नसक्ने सरुभक्तको भनाइ थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले युवाकवि मोतीराम भट्टका बारेमा बोलेका थिए । ‘मोतिराम बहुमुखी प्रतिभाशाली कवि, गीतकार, गजलकार, नाटककार, नाटक निर्देशक र जीवनीकार हुनुका साथै सँगसँगै पढ्दै, लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, संघसंस्था खोल्दै, पुस्तकालय खोल्दै, छापाखाना चलाउँदै, भानुभक्त आचार्यलाई प्रकाशनमा पनि ल्याउन सफल भए,’ उनले भने, ‘जोन किट्स, शेली, सिल्भिया प्लाथ आदि झैं उनले पनि ३० वर्षमात्र बाँचेर पनि अद्वितीय काम गरे ।’
कार्यक्रममा बिम्बकवि एवं प्राज्ञ रमेश श्रेष्ठ, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकाल, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, जमुना कायस्थ, कृष्ण सुवेदी, विर्सना बस्नेत, सुरज पौडेल, भूमिराज बस्ताकोटी, रेशम गिरी, यशोधा गौतम, नवराज न्यौपाने, त्रुपकलगायतले गजल वाचन गरेका थिए ।
संस्था अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाको साहित्य विभागकी संयोजक केशु शर्मा र संचालन सचिव एमडी काफ्लेले गरे ।
Copyright © 2024 | All rights reserved.