0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समिति बीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने गरी समझदारी भएको छ ।
समझदारी पत्रमा पोखरा महानगरपालिकाकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीको तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गरेका थिए ।
दुपैपक्ष बिच आपसमा खेल गतिविधिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू बिच भ्रमण आदानप्रदान, पोखराका खेलकुद र खेलाडीको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले उक्त समझदारी गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।
“फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथलेटिक्स, म्याराथन लगायत खेलमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ”, प्रमुख आचार्यले भने, ‘पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ ।”
यसमार्फत पोखरेली र कोरियाली खेलाडीबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुनेछ ।
चेओगं योङ काउन्टी खेलकुद समिति अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताए ।
युवा खेलाडीहरू आदानप्रदान, विद्यालय स्तरका खेलकुदका कार्यक्रम् सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थालाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगर भित्रका खेलकुद गतिविधिका सम्भाव्य क्षेत्रको खोजीका लागि आफूहरू तत्पर रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खेल पूर्वाधारको विकास, खेलाडी्कोर क्षमता अभिवृद्धि, खेल सामग्री सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्पूर्ण रहेको उनले बताए ।
सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बिचमा पनि भएको छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मीलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष एवं महानगरको खेलकुद विकास समिति संयोजक तोरणबहादुर बानियाँलगायतले समझ्दारी पोखराका खेलाडीको अन्तर्राष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
Copyright © 2024 | All rights reserved.