0
प्रतिक्रिया
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको पर्यटन चलायमान हुन नसकेको बताएका छन् ।
थोक व्यवसायी संघ कास्कीको आठौँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष कार्कीले संघकै अगुवाईमा विमानस्थल निर्माण भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पर्यटक आगमन कमि हुँदा आर्थिक क्षेत्र चलायमान हुन नसकेको स्पष्ट पारे ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्नका लागि जहाँ जेसुकै पहलकदमी गर्न पनि तयार रहेको उनले प्रतिवद्धता जनाए ।
व्यवसायमैत्री नीति निर्माण, कृषि उत्पादन वृद्धि र पर्यटक वृद्धिसहितका कार्यक्रम सञ्चालन गर्न पोउवासंघ तत्पर रहेको उनले स्पष्ट पारे ।
महाभूकम्प र कोरोना महामारीले निराशा छाएको बजारमा पछिल्ला समयमा केही आशा पलाएको भन्र्द अध्यक्ष कार्कीले निराश नहुन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले भने, ‘सूर्य र चन्द्रमालाई ग्रहण लागेजस्तै व्यवसायीलाई पनि समस्या भएको छ, ग्रहण सकिएपछि आउने उज्यालो जस्तै व्यवसायीको अनुहारमा पनि उज्यालो छाउँछ ।’
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष मीनराज काफ्लेले संघ स्थापना गर्दा हामीले देखेका सपना र लक्ष्यलाई निरन्तर अघि बढाउन अहिलेको नेतृत्वले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । संस्थाले व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै अघि बढ्दा संघको विश्वसनीयता अझ बढेको बताए ।
कपडा व्यवसायी एशोसिएशन कास्कीका अध्यक्ष लेखनाथ पौडेलले सामाजिक कार्यमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका सदस्य टिकाराम सुवेदी (माधव), सल्लाहकार लेखनाथ सुवेदी, हिमालय आँखा अस्पतालका सुवास नेपाललगायतले बोलेका थिए ।
संस्थाकी अध्यक्ष उषा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मिरोज नारायण जोशीले स्वागत र सञ्चालन महासचिव शम्भुनाथ योगीले गरेका थिए ।
वार्षित्सवको अवसरमा आयोजित आँखा शिविरमा दुई सय पाँच जनाले आँखा परीक्षण गराएका थिए ।
Copyright © 2024 | All rights reserved.