असोज ०३, २०८२, शुक्रबार

पोखराको भरतपोखरीमा ‘बाघमारा महोत्सव’


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पूरा भएको छ । 

महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने, स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने, विभिन्न समुदाय र जनजातिलाई एकै मञ्चमा ल्याएर आपसी समझ्दारी र सहकार्य बढाउने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आफूले गरेको क्लबका वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । 

उनले भरतपोखरीका युवाहरु संगठित भई खेलकुद, मनोरञ्जनात्मक गतिबिधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षणलगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 
महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन उनले सुझाव दिए ।  

क्लबका अध्यक्ष दवेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवर्द्धन, पर्यटन आकर्षण, शिक्षा, चेतनाका लागि महोत्सव गरिन लागेकाले सञ्चारकर्मीहरुको सहयोगको आशाा गरेका थिए ।  

महोत्सवमा एक सय ४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उनले जानकारी दिए । विभिन्न वस्तु तथा सेवाका स्टलका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैंक वित्तीय, रेष्टुरेण्टलगायतका स्टल रहनेछन् ।  बालउद्यान, रत्यौली विद्यालय स्तरीय नृत्य रहने आयोजकले जनाए ।

शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवर्द्धन गर्न २०७० साल स्थापित संस्था हो।

स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको यो क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवर्द्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ । 

क्लबको आयोजनामा प्रथम भरतपोखरी हुँडीकोट महोत्सव भएको थियो भने यसपटक बाघमारा महोत्सव गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान छ  । 

अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीले स्वागत र सचिव स्वागत भुसालले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.