0
प्रतिक्रिया
पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमण सुरु गरेको छ ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवालगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवं व्यवसायीसँग छलफल एवं अन्तरक्रियासहित प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिवृद्धिलगायतका विषयमा छलफल गर्ने कार्यक्रम संयोजक नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष राजेश पहारीले जानकारी दिए ।
टोलीलाई पोखराबाट पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी प्रदेश पूर्वअध्यक्ष परिषद् संयोजक वासु त्रिपाठी, सहसंयोजक सन्तोष पोखरेल, निवर्तमान अध्यक्ष हरिराम अधिकारीलगायतले बिदाई गरेका थिए ।
अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमणले पर्यटन प्रवर्द्धनसँगै पर्यटकीय साझोदारीलगायतका महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले बताए ।
टोली प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गर्दै भदौ २१ गते पोखरा फर्कने जनाइएको छ ।
Copyright © 2024 | All rights reserved.