असोज ०३, २०८२, शुक्रबार

पर्यटकीय विकासका लागि गण्डकी र लुम्विनी प्रदेशबीच सहकार्यमा जोड


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशको पर्यटनका सन्दर्भमा बुधबारदेखि अन्तरप्रदेश पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बिहीबार लुम्बिनी प्रदेशको नेपालगञ्जमा त्यहाँका पर्यटनसम्बद्ध अधिकारी एवं पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रचुर पर्यटकीय सम्भावना रहेका दुबै प्रदेशबीच एक आपसमा पर्यटकीय विकासका लागि सहकार्य आवश्यक भएको बताए ।

दुबै गन्तव्यको पर्यटकीय विकासका लागि भैरहबा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संयुक्त पहल आवश्यक हुने उनले बताए ।

कार्यक्रमका सभापति एवम् नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले अन्तरप्रदेश पर्यटन प्रवर्द्धनमार्फत पर्यटकीय विकासका लागि साझेदारी बढाउन लागिएको बताए ।

साझेदारी भएमा दुबै प्रदेशले पर्यटनबाट राम्रो फाइदा लिन सक्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पर्यटनको विकासका लागि सुरक्षा महत्वपूर्ण पाटो रहेको बताउँदै पर्यटकलाई स्वतन्त्र रुपमा घुमफिर गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त सिंहले उपमहानगरपालिका स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने कुरामा निरन्तर लागिरहेको बताए ।

पर्यटकीय विकासका लागि सहकार्य एवं साझेदारी आवश्यक हुनेमा उनले जोड दिए ।

उद्योग वाणिज्य संघ बाँकेका महासचिव भीमबहादुर रानाभाटले भारतीय धार्मिक पर्यटकको आकर्षण बढाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष किशोर दाहालको सभापतित्व एवं महासचिव चेतन कार्कीद्वारा सञ्चालित कार्यक्रममा द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेश पहारीले स्वागत गरेका थिए भने धन्यवादसहित समापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गरेकी थिइन्।

Copyright © 2024 | All rights reserved.