0
प्रतिक्रिया
पोखरा । तीन दिनदेखि पूर्णरुपमा बन्द भएको बेनी-जोमसोम-कोरला सडक सञ्चालनमा आएको छ ।
आइतबार बिहान काभ्रेभिरमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरोसँगै खसेका ढुंगा निकै ठूला भएकाले पन्छाउन निकै समय लागेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा झरेका ठूला ढुंगा फुटाइएको थियो।
डोजरको सहायताले पहिरो पन्छाएर गए राति १०ः०० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीले जनाएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाइएको प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले जानकारी दिए ।
सडक बन्द भएसँगै मुस्ताङ घुम्न हिंडेका पर्यटक, सोह्रश्राद्धमा कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री अलपत्र परेका थिए ।
खत्रीका अनुसार सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर पोखरा आउँदै गरेका मालबाहक ट्रक पनि गन्तव्यतर्फ लागेका छन् ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि बेनी-जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ ।
प्रहरीले वर्षा कायमै रहेकाले विचार गरेर, सुरक्षा निकायसँग सम्पर्क गरेरमात्र बेनी-जोमसोम सडकमा यात्रा गर्न आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.