0
प्रतिक्रिया
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जनअपेक्षा अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । संविधान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गरेर सरकार अघि बढ्ने स्पष्ट पारिन् ।
जनताको गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
सूचना प्रविधिमा भएको विकास, अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएका रोजगारीका अवसर गुणस्तरीय जीवनस्तर, सरकारका काम कार्बाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्न हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको उनले बताइन् ।
‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो’, उनले भनिन् ।
समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुँदा जनताको अपेक्षा अनुसार राज्य क्रियाशील हुँदै सुधारको बाटोमा हिड्नपर्ने पनि उनको भनाइ छ ।
संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य सुशासनलगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै उनले जनताको भावना संविधानका अक्षरभन्दा बढी बहुआयामिक हुने बताइन् ।
Copyright © 2024 | All rights reserved.