असोज ०५, २०८२, आइतबार

गण्डकीका प्रमुख सचिव डण्डुराज घिमिरेको स्वागत


Advertisement Image
clock icon 1 hour, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश सरकारका नयाँ प्रमुख सचिव डण्डुराज घिमिरेलाई आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ । निमित्त प्रमुख सचिव रमेश ढकालले माला अर्पण गर्दै प्रदेशको आधिकारिक डायरी हस्तान्तरण गरी घिमिरेलाई स्वागत गरेका हुन् ।

स्वागतपछि बोल्दै प्रमुख सचिव घिमिरेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरूको स्मरण गर्दै आफ्नो कामको शैली छलफल, सल्लाह र रायसुझावका आधारमा सामूहिक निर्णय गर्ने रहेको स्पष्ट पारे । उनले भने, ‘कर्मचारी संयन्त्रलाई विवादरहित बनाइराख्न कठिन हुन्छ, तर नहुने काम नगरी गर्नुपर्ने काम चुस्तदुरुस्त बनाउनु सबैको जिम्मेवारी हो ।’

घिमिरेले प्रशासनिक सुधार र पारदर्शिता बिना जनविश्वास कायम रहन नसक्ने चेतावनी दिँदै कर्मचारीलाई राष्ट्रसेवकको भावना बोकेर काम गर्न निर्देशन दिए । उनका शब्दमा, ‘शासकीय क्षमतामा सुधार आएन भने, प्रशासक सुध्रिएनन् भने समग्र कर्मचारी संयन्त्रप्रति जनविश्वास घट्छ । त्यसैले हामीले गरेका काम र निर्णयमा गौरव गर्न लायक बन्न मनैबाट राष्ट्र सेवक बन्नुपर्छ ।’

सो अवसरमा उनले सामाजिक सञ्जाल र मिडियाबाट हुने खबरदारीलाई बेवास्ता नगरी आत्मसात् गर्नुपर्नेमा जोड दिए । ‘सामाजिक सञ्जाल र मिडियाबाट आएका सचेतनालाई नजरअन्दाज नगरी त्रुटि देखे सुधार गर्नुपर्छ,’ उनले भने ।

प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारका ४३ वटा चारपाङ्ग्रे र १०४ वटा दुईपाङ्ग्रे सवारी साधन जलेर नष्ट भएका छन् । अन्य भौतिक संरचनाको क्षति, वित्तीय विवरण र ध्वस्त सामग्रीको सम्पूर्ण मुचुल्का अझै तयार हुन बाँकी रहेको छ । प्रमुख सचिव घिमिरेले शीघ्र मूल्यांकन गरी विस्तृत विवरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री र प्रमुख सचिवको निवास पूर्णरूपमा ध्वस्त भएकाले अस्थायी आवासको व्यवस्था अन्यत्र गरिएको छ । यद्यपि कर्मचारीहरूले मन्त्रिपरिषद्को कार्यालयको सरसफाइ सक्दै प्राथमिक काम सुरु गरिसकेको उपसचिव प्रवीण ढकालले जानकारी दिए । कार्यालयको झ्याल–ढोका, मूल गेट खुला रहँदा र सुरक्षा गार्ड नहुँदा भौतिक सामग्री लुटपाट र चोरी भएको पनि उनले बताए ।

३६ वर्षको निजामति सेवाको अनुभव सुनाउँदै घिमिरेले आफूलाई भाग्यमानी ठान्ने भाव व्यक्त गरे । उनले २०४७ सालमा जिल्ला सहकारी कार्यालय काभ्रेमा सहलेखापालका रूपमा सरकारी सेवा प्रारम्भ गरेका थिए । २०५१ सालमा शाखा अधिकृत, २०५८ सालमा उपसचिव, २०६९ सालमा सहसचिव हुँदै २०८२ भदौ ३० को निर्णयअनुसार सचिवमा बढुवा भई गण्डकी प्रदेशमा सरुवा भएका हुन् । सचिवमा बढुवाको निर्णय दुई पटक भएको उल्लेख गर्दै उनले यो यात्रालाई आफ्नो पेशागत जीवनको गर्विलो उपलब्धि भनेका छन् ।

स्वागतका लागि आभार प्रकट गर्दै प्रमुख सचिव घिमिरेले विध्वंसपछिको पुनर्निर्माण, शासकीय क्षमता अभिवृद्धि र पारदर्शी प्रशासनका लागि सबै कर्मचारीलाई समर्पित भावनासहित काम गर्न आह्वान गरे । उनले भने, ‘अबको लक्ष्य भनेको विवादभन्दा पर रहँदै नागरिक सेवामा गति ल्याउनु हो । यसका लागि सबैको साझा प्रयास अपरिहार्य छ ।’

गण्डकी प्रदेश सरकारले आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सेवाको सहज प्रवाहलाई तत्काल प्राथमिकतामा राख्दै कार्ययोजना अघि बढाइरहेको छ । प्रमुख सचिव घिमिरेको नेतृत्वले यस प्रक्रियामा कस्तो गति ल्याउँछ भन्नेमा कर्मचारी र नागरिक दुबैको दृष्टि केन्द्रित छ ।

Copyright © 2024 | All rights reserved.