असोज ०६, २०८२, सोमबार

बडादशैँ प्रारम्भ, आज घटस्थापना


Advertisement Image
clock icon 1 hour, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आजबाट नेपालीको महान चाड बडादशैँ प्रारम्भ भएको छ । दशैँको पहिलो दिन आज घटस्थापना हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यसपश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने देवी भागवतमा उल्लेख छ ।

आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन् । यी चार नवरात्रमा आषाढशुक्ल र माघशुक्लपक्षका तिथिलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकका लागि उपयोगी मानिन्छन् । चैत्रशुक्ल र आश्विनशुक्लपक्षमा आम मानिसले शक्तिको आराधना गर्ने गर्दछन् ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा व्याख्या गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् अर्थात् जुन–जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा वर्णन गरिएको छ ।

दशैँ आश्विनशुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पूजा गर्दा नौ दिनसम्म कुन-कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ ।

घटस्थापनाको उत्तम साइत बिहान ७ बजेर २६ मिनेटमा रहेको छ । गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।

महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ ।

यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

Copyright © 2024 | All rights reserved.