0
प्रतिक्रिया
पोखरा । बडादशैँ एवं नवरात्रको तेस्रो दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ ।
चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको छ ।
उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तले पूजन गरिरहेका छन् ।
गाउँघर तथा वस्तीमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदैछ ।
चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।
चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने विश्वास रहिआएको छ ।
Copyright © 2024 | All rights reserved.