0
प्रतिक्रिया
पोखरा । धादिङ–पोखरा सम्पर्क समाज र दृष्टि आँखा अस्पतालबीच आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । समाज अध्यक्ष सरस्वती श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उद्योगी, व्यवसायी र दैनिक ज्यालादारी गर्ने मजदुरसमेतलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ सम्झौता गरिएको बताइन्छ ।
सम्झौतासँगै समाजका सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन् ।
सम्झौताको प्रावधानअनुसार, सस्थाका सदस्य वा कर्मचारीले आफ्नो परिचयपत्र वा सस्थाको सिफारिस पत्र देखाएर सजिलै सेवा लिन सक्नेछन् । यसरी उपचार गराउँदा उनीहरूलाई ओपीडी सेवामा १५ प्रतिशत, चेकजाँच र प्रयोगशालामा २५ प्रतिशत, चश्मा र चस्माजन्य सामग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट दिइनेछ ।
समाजका अध्यक्ष श्रेष्ठले समाजका दैनिक ज्यालादारी गर्ने मजदुरदेखि मध्यम र ठूला व्यापारीसम्मलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो सम्झौता महत्त्वपूर्ण हुने दावी गरिन् ।
उनले नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र भूतपूर्व भारतीय सैनिकका लागि इसीएचएस स्वास्थ्य सेवासमेत अस्पतालले दिइरहेको हुँदा यो सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन । समाजमा एक हजार ६५ जना सदस्य छन् । यो सम्झौता एक बर्षसम्म लागू हुने बताइएको छ ।
समाजका महासचिव प्रकाश दुलालका अनुसार स्वास्थ्य उपचारमा छुट गर्ने सम्बन्धमा पोखराको मेडिप्लस र मनिपाल शिक्षण अस्पतालसँग पनि सम्झौता गरिएको छ ।
Copyright © 2024 | All rights reserved.