0
प्रतिक्रिया
पोखरा । बडादशैँको आज पाँचौं दिन हिन्दूधर्मालम्बीले देवी स्कन्दमाताको पूजा-आराधना गरेर मनाइँदै छ ।
नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए ।
त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।
शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ ।
स्कन्दमातालाई क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्मसमेत भन्न सकिन्छ । देवी स्कन्दमाता व्यवहारिक ज्ञानकी स्रोत हुन् । स्कन्द तत्व देवीको एउटा अर्को स्वरुपमात्र हो । स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् ।
भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ ।
यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।
शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिकका रुपमा मान्ने गरिन्छ ।
Copyright © 2024 | All rights reserved.