0
प्रतिक्रिया
काठमाडौँ । एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले नवौँ पटक उपाधि जितेको हो ।
पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलक बर्माले निर्णायक एक चौका र तीन रन तथा रिंकु सिंहले एक चौका प्रहार गरेपछि भारत उपाधि उचाल्न सफल भएको हो ।
फाइनल खेलमा तिलक वर्माले सर्वाधिक अवीजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम् दुबेले ३३ र तथा सन्जु सामसनले २४ रन बनाउन सफल भए ।
शुरुआत राम्रो नभए पनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम् दुबेसँग मिलेर साँझेदारी बनाएका थिए । भारत २० रनमा तीन विकेट गुमाएर कठिन अवस्थामा हुँदादेखि तिलकले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गरे ।
पाकिस्तानका फहीम अशरफले तीन तथा अबरार अहमद र शाहीन अफ्रिदीले एक-एक विकेट लिए ।
यता, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९दशमलव१ ओभरमा अलआउट हुँदै एक सय ४६ रन बनाएको थियो । शुरुआत राम्रो गरेको भए पनि पाकिस्तानको अकल्पनीय रुपमा विकेट पतन भएको थियो ।
खेलको १३औं ओभरसम्ममा एक विकेटको क्षतिमा एक सय १३ रन बनाएको पाकिस्तान त्यसपछि थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुगेको थियो ।
पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए भने फखार जमानले ४६ रन बनाए । सायम अयुबले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउनै सकेनन् ।
भारतका कुलदीप यादव एक्लैले चार ओभरमा ३० रन दिएर चार विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई-दुई विकेट लिए ।
Copyright © 2024 | All rights reserved.