0
प्रतिक्रिया
पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले शान्ति र सुव्यवस्था कायम राख्दै अनुशासित, मर्यादित र सभ्य तबरले चाडपर्व मनाउन सर्वसाधारणमा आग्रह गरेको छ । ‘जेन-जी’ प्रदर्शनका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थितिबीच प्रशासनले सार्वजनिक सूचनामार्फत यस्ताे आग्रह गरेकाे हाे ।
प्रशासनले चाडपर्वका समयमा चोरी, डकैती र लुटपाटका घटना हुनसक्ने भन्दै त्यसतर्फ उच्च सावधानी अपनाउन र कतै शङ्कास्पद गतिविधि देखिएमा स्थानीय जनप्रतिनिधि, प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सूचनामार्फत आग्रह गरेको छ ।
गैरकानूनी रूपमा खेलाइने चिठ्ठा, जुवातास जस्ता खेलमा सहभागी नहुन र अनलाइन माध्यमबाट हुने अवैध कारोबार र ठगीबाट सचेत रहन कार्यालयले आग्रह गरेको छ ।
कार्यालयले सार्वजनिक सवारीसाधनको आवागमनलाई व्यवस्थित, सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न यातायात व्यवसायीमा अुनरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । वस्तु तथा सेवा प्रदायक निकायलाई उपभोक्ता हकहित संरक्षण र स्वच्छ बजार प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरिएको उनले उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला सुरक्षा समितिमार्फत जिल्लामा सवारी आवागमन र यात्रु सहजताको अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले पनि यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहित जाँच, पैदलगस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिरहेको छ ।
दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले जिल्लामा ‘चाडपर्व विशेष सुरक्षा योजना-२०८२’ लागू गरेको छ ।
Copyright © 2024 | All rights reserved.