असोज १४, २०८२, मंगलबार

नेपाल र वेष्ट इन्डिज आज तेस्रो खेल खेल्दै


Advertisement Image
clock icon 1 hour, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । बडादशैँका बेलामा नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमले सम्पूर्ण नेपालीलाई निकै ठूलो खुशी दिएको छ । टिमले टी-२० क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता हासिल गर्ने क्रममा टेष्ट मान्यताप्राप्त टिमविरुद्ध उपाधि जितेर सनसनी मच्याएको छ । 

नेपालले टी-२० क्रिकेटमा टेष्ट क्रिकेट टिम वेष्ट इन्डिजविरुद्ध श्रृंखला जितेको हो । यूएईको शारजहाँ क्रिकेट मैदानमा तीन खेलको श्रृंखलामा लगातार दोस्रो खेल जितेर नेपालले एक खेलअघि नै श्रृंखलामाथि कब्जा जमाइसकेको छ । 

आज तेस्रो खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजे शुरू हुँदैछ । यो खेल जित्दा नेपालले कुनै पनि टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध श्रृंखलामा क्लिन स्वीप गर्ने इतिहास रच्नेछ । 

कुनै समय विश्व क्रिकेटमा एकछत्र राज गरेको वेष्ट इन्डिजले नेपालविरुद्ध यस्तो फितलो प्रदर्शन गर्ला भनेर विरलैले अनुमान गरेका थिए होलान् । त्यो भन्दा पनि नेपाली खेलाडीहरूले देखाएको शानदार प्रदर्शनले क्रिकेटप्रेमीहरूको मन जितेकै हुनुपर्छ । 

गत शनिबारको पहिलो खेल १९ रनले जितेर कुनै पनि टेष्ट मान्यता प्राप्त राष्ट्रमाथि पहिलो जित निकालेर इतिहास रचेको नेपालले सोमबार राति भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित निकाल्दै झनै ठूलो कीर्तिमान बनायो । 

अब आजको खेलमा जित हासिल गर्दा कीर्तिमानलाई अझ मजबुत बनाउने छ । 

यसपालिको खेल हेर्दा नेपाली खेलाडीहरू एकसे एक देखिएका छन् । एउटा नचले अर्को खेलाडी चल्ने र आपसमा राम्रो साझेदारी गरिरहेका छन् । साथै फिल्डिङ उत्कृष्ट गरेका छन् । 

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनायो । आसिफ शेखले ४७ बलमा अविजित रहँदै ६८ तथा सन्दीप जोराले ३९ बलमा ५ छक्काको मद्धतले ६३ रन जोडे । चौथो विकेटका लागि आसिफ र सन्दीपबीच सय रनको साझेदारी भएको थियो । 

जवाफमा वेष्ट इन्डिज १७.१ ओभरमा अलआउट हुँदै ८३ रनमा रोकियो । जासन होल्डरले सर्वाधिक २१ रन बनाएको इनिङ्सलाई कम योगफलमा रोक्ने क्रममा मोहम्मद अदिल अलामले सर्वाधिक ४ विकेट लिए । 

प्रशिक्षक स्टुवार्ट लले आदिललाई विश्वास गरेर मैदानमा खेलाउँदा ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका हुन् । 

उनी तीन वर्षपछि मैदानमा उत्रदै शानदार कमब्याक गरेका छन् । २०७९ सालको मंसिरमा त्रिवि क्रिकेट मैदनामा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि उनीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०८० साल चैतमा उनलाई सफाई दिएको थियो । सोही आधारमा नेपाल क्रिकेट संघ क्यानको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गरेपछि २०८२ वैशाख २१ गतेदेखि लागू हुने गरी प्रतिबन्ध फुकुवा भएको थियो । 

त्यसयता आदिल नेपाल ‘ए’ टिम हुँदै उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। वेष्ट इन्डिजविरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले १६ रन खर्चेर ३ तथा ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र करण केसीले १-१ विकेट लिए । 

Copyright © 2024 | All rights reserved.