मंसिर १६, २०८२, सोमबार

छठ: बर्तालु आज 'खरना' विधिका तयारीमा, भोलि मुख्य निराहार व्रत


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज (कात्तिक शुक्ल पञ्चमी) बर्तालुहरू 'खरना' विधिको तयारीमा जुटेका छन्। शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन 'नहाय-खाय' (वा 'अर्बा-अर्बाइन') विधिबाट पर्व सुरु गरेका बर्तालुहरूले आज दिनभरि निराहार उपवास (व्रत) बस्नेछन्।

 

'खरना' को दिन बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् र राति चन्द्र दर्शन गरिसकेपछि यो विधि सम्पन्न गर्छन्। परम्परा अनुसार, माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर कूलदेवता र छठी देवीलाई चढाइन्छ। दिनभरि व्रत बसेका बर्तालुले त्यसपछि यही खिरलाई प्रसादस्वरूप खाने चलन छ।

'खरना' लाई स्वधर्म, आत्मसंरक्षण र पापको नाशको भावमा लिइन्छ।

'खरना' विधिसँगै प्रसादस्वरुप खाएको खिरपछि नै बर्तालुको महत्त्वपूर्ण मानिने निराहार व्रत शुरु हुन्छ, जुन कात्तिकशुक्ल षष्ठी तिथिमा गरिन्छ। यो मुख्य विधि सोमबार सम्पन्न गरिने तयारी छ।

सोमबार साँझ बर्तालुले सूर्य उपासना गर्दै मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्, जसलाई मिथिलामा 'सझुका अरख' वा 'सझियाघाट' भनिन्छ।

त्यसैगरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्वको समापन गरिनेछ, जसलाई 'भोरका अरख' र 'पारन' पनि भनिन्छ।

छठ पर्वमा बनाइने प्रसादहरू, जस्तै ठकुवा र भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई ख्वाउने र आफन्त नातेदार कहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ।

यस पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ र अर्घ्यका लागि बनाइने मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धूमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ र यो मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ।

Copyright © 2024 | All rights reserved.