फागुन ०५, २०८२, मंगलबार

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ


Advertisement Image
clock icon 13 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीमा सञ्चालन हुँदै आएका स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो बढेपछि प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका इकाइबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले सोमबार बिहान स्कुल बस चालकहरूको मापसे (मादक पदार्थ सेवन) परीक्षण गरेको थियो।

जाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने चालकमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. बसका चालक ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं. बसका चालक ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१ ६२२१ नं. बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४०३ नं. बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलको ग१क ६४३३ नं. बसका चालक ४७ वर्षीय पदम बिके छन् ।

प्रहरीले विद्यालय बसजस्ता संवेदनशील सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्न सचेत गराउँदै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै कडाइका साथ अनुगमन तथा कारबाही गरिने पनि प्रहरीले स्पष्ट पारेको छ।

Copyright © 2024 | All rights reserved.